कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको फोहोर फाल्न तिन दिनदेखि स्थानीयले रोकेका छन् । वीरेन्द्रनगर नगरपालिका –१ का स्थानीयहरुले विभिन्न माग राखेर फोहोरको गाडी ल्याण्डफिल्ड साईटमा प्रवेशमा रोक लगाएका हुन् ।
वीरेन्द्रनगर नगरपालिकाले विगतमा भएको मागहरुको बेवास्था गरेको भन्दै बलभद्र पुरीको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलित भएका हुन् । ल्याण्डफिल्ड साईट १ नम्वर वडामा पर्ने भएकाले प्रभावित क्षेत्रका जनताहरु फोहोरका कारण पीडित भएको भन्दै आफूहरुले उठाएका उचित मागहरु सम्बोधन नभएसम्म फोहोरका गाडी प्रवेशमा रोक लगाईएको संघर्ष समितिका संयोजक बलभद्र पुरीले बताए । ‘जबसम्म मागको सम्वोधन हुँदैन् तवसम्म संघर्ष जारी हुन्छ,’ संयोजक पुरीले भने, जति दिन किन नहोस् कि माग सम्वोधन हुन्छ कि सधैका लागि ल्याण्डफिल्ड साईट बन्द हुन्छ ।’
उनीहरुले कर्णाली बसपार्क निर्माण, खेलमैदान निर्माण, हटलाईन बाटो निर्माण, खानेपानीको श्रोत संरक्षण, वडा नम्वर १ देखि १४ जोड्ने सडक स्तरउन्नती, साविकको २ नम्वर र १ नम्वर सिमाको सडक स्तरउन्नती, विश्वविद्यालयको एक संकायको भवन निर्माण, रिङ रोडको काम तत्काल निर्माण, नगरपालिकाका पूर्वघोषित वडा स्तरीय कामहरु सुरु गनुपर्ने लगायतका माग राखेका छन् । ल्याण्डफिल्ड साईटका प्रभावितहरुले जस्तोसुकै अवस्थामा आए पनि माग पूरा नहुने बेलासम्म फोहोरका गाडीहरु प्रवेशमा रोक लगाईने बताएका छन् ।


वीरेन्द्रनगरमा फोहोर फाल्न रोक लगाईएपछि फोहोर थुप्रो लाग्न थालेको छ । आधिकारिक रुपमा आफुहरुलाई जानकारी नआएको तर, वडामा के हो भनेर बुझ्ने काम भईरहेको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले बताईन् ।



