सुर्खेत गुर्भाकोट नगरपालिका-३ टिमुरेका अर्जुनकुमार ओली अहिले ३८ वर्ष पुगे। अर्जुनलाई आफ्नो घरखर्च जुटाउनै मुस्किल थियो। रोजगारीका लागि भौतारिएका अर्जुनले कुनै रोजगारी नपाएपछि घरमा खेतीपाती गर्थे, त्यो पनि निर्वाहमुखी। घरखर्च चलाउन समस्या भएपछि उनले गाउँमै जडीबुटीको सामान्य व्यापार गर्न सुरु गरे। व्यापार गर्ने सिलसिलामा अर्जुनलाई एकजना वनविज्ञले अर्जुनको गाउँलाई टिमुरखेतीको सम्भावना देखाएपछि उनले टिमुरखेती व्यावसायिक रूपमै गर्ने योजना बनाए।
“हाम्रो यो टिमुरे गाउँमा पहिलेदेखि नै टिमुर हुन्थ्यो”, अर्जुन भन्छन्, “यसलाई व्यावसायिक ढङ्गले गर्नुपर्छ भन्ने थाहा पाएपछि मैले टिमुरखेती सुरु गरेँ। त्यसबाट आम्दानी लिन केही वर्ष कुर्नुपर्ने भए पनि मैले धैर्य राखेँ, जब फल दिन थाल्यो, मलाई अझै यो खेती गर्न हौसला मिल्यो।”
अहिले ४३ रोपनी जमिनमा टिमुरखेती गर्दै आएको अर्जुन बताउँछन्। “मैले अहिले ४३ रोपनी जमिनमा दुई हजार बुटा टिमुर लगाएको छु, त्यसमध्ये १२ सय बोटले फल दिइरहेको छ भने अन्य बोटमा पनि फल लाग्न सुरु भएको छ।”
उनले अहिले वार्षिक तीन हजार किलो टिमुर बेच्दै छन्। सबै खर्च कटाएर वार्षिक २० लाख रूपैयाँ रकम बचत हुने गरेको उनको भनाइ छ। उनको टिमुर उत्पादन बढ्दै गएपछि सुरुमा त बजार पाउन केही कठिनाइ भयो। पछि अर्जुनले विभिन्न ठाउँमा समन्वय गरेर न्यु हिमाल हर्बल एण्ड फुड सप्लायर्स चलाए। अहिले आफ्नो मात्रै नभई अन्य किसानले उत्पादन गर्ने टिमुर लगायतका जडीबुटी खरिद गरेर काठमाडौँ लगायतका ठाउँमा पठाउँछन्।


कुनै बेला आर्थिक रूपमा कमजोर अर्जुनले अहिले २२ जनालाई त्यही हर्वलमा रोजगारी दिएका छन्। मिहेनत गरे स्वदेशमै मनग्य आम्दानी लिन सकिन्छ भन्ने उदाहरण बनेका अर्जुन नयाँ तरिकाबाट काम गर्न सके स्वदेशमै पनि मनग्य आम्दानी लिन सकिने उदाहरण बनेका छन्।
उनी भन्छन्, “मिहेनत गर्नेलाई नेपालमै प्रसस्त आम्दानी छ, आफ्नो परिवारसँगै बसेर आम्दानी गर्न सकिने भएकाले योजना बनाएर उत्पादनमा जोडिन युवाहरुलाई सुझाव दिन्छु।”
अर्जुन जस्तै दैलेख गुराँस गाउँपालिका – ८ पाल्तेका उदयबहादुर खड्काले पनि १२ रोपनी जमिनमा टिमुरखेती गरेका छन्। उनले टिमुरखेतीबाट वार्षिक आठ लाख रूपैयाँ कमाउँछन्। उनीसँग टिमुरका चार सय बोट छन्।



