☰ open Loading... 21 June 2025|  

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो
पश्चिम नेपाल   | २५ जेष्ठ २०८२, आईतवार १२:४४

शुक्रबार बेलुकीदेखि पहिरोले अवरुद्ध रहेको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक आइतबार बिहानदेखि एकतर्फी रुपमा खुलेको छ

कालिकोटको गाल्जेनजिकै पहिरो खस्दा शुक्रबार बेलुकी ४ बजेदेखि सडक अवरुद्ध भएको सडक गाडीका चालक र सहचालक मिलेर शनिबार दिनभरि लगाएको पर्खाल बेलुकी पुन: भत्किएपछि शनिबार रातभरि जेसिबीले काम गरेर आइतबार बिहान सडक सुरु गरिएको डिएसपी टेकबहादुर रावतले बताए ।

जुविथा जिउलोको पानीले गाल्जे नजिकै भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । साँघुरो सडकमा पर्खाल खसेकोले सयौं मालवहाक गाडी रोकिएका थिए । कालिकोटका प्रजिअ नारायणप्रसाद भट्टराईले भने ठूला गाडी जान सक्ने अवस्था थिए, अब खुलिसक्यो । उनले सडक डिभिजन कार्यालय जुम्लाको टोली मेसिनसहित पहिरो गएको ठाउँमा पुगेर सडक सुरु गरेको जानकारी दिए ।

कर्णाली राजमार्ग वर्षा नलाग्दै पहिरो सुरु भइसकेकोले असार साउनमा यात्रुलाई बढी सास्ती हुने अस्थायी ट्राफिक पोस्ट खल्लागाडका प्रहरी हवल्दार चन्द्रबहादुर घर्तीले बताए । उनलाई सडक अवरुद्ध हुँदा तोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् ।