☰ open Loading... 20 June 2025|  

निलम्बित र कार्यवाहक मेयरको शक्ति संघर्षले रणभूमि बन्यो राजविराज, लेखा अधिकृत कुटिए
पश्चिम नेपाल   | २७ जेष्ठ २०८२, मंगलवार १७:२१

प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिलाई लिएर बल्झिएको विवादले मंगलबार राजविराज नगरपालिकामा हिंसात्मक रूप लिएको छ।

निलम्बित मेयर र कार्यवाहक मेयर पक्षबीच भएको शक्ति संघर्ष झडपमा परिणत हुँदा नगरपालिका कार्यालयमा तोडफोड भएको छ भने लेखा अधिकृतसहित दुई जना घाइते भएका छन्।

भ्रष्टाचार मुद्दामा निलम्बित मेयर भीमराज यादव नेतृत्वको समूह र कार्यवाहक नगरप्रमुख इसरत परविन पक्षबीच झडप हुँदा नगरपालिका कार्यालय तनावग्रस्त बनेको थियो।

झडपमा परी लेखा अधिकृत शत्रुधनलाल दास र अर्का एक व्यक्ति घाइते भएका छन्। उनीहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।

उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहेको नगरपालिकामा कार्यवाहक मेयर परविनले शिक्षा शाखाका अधिकृत भोगेन्द्र यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएपछि विवाद चर्किएको हो।
उक्त निर्णयको विरोधमा निलम्बित मेयर यादवको समूहले तीन दिनदेखि नगरपालिकामा तालाबन्दी गर्दै आन्दोलन गरिरहेको थियो। मंगलबार कार्यवाहक मेयर परविनले प्रहरीको सहयोगमा ताला तोडेर नवनियुक्त निमित्त प्रमुख यादवलाई पदभार ग्रहण गराउन खोज्दा अवस्था अनियन्त्रित बनेको थियो।

दुई पक्षबीच ढुंगामुढा र कुटाकुट सुरु भएपछि स्थिति तनावपूर्ण बनेको थियो। कार्यवाहक मेयर परविन र निमित्त प्रमुख यादवलाई प्रहरीले सुरक्षा दिएर केहीबेर कार्यालयभित्रै राख्नुपरेको थियो। स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले कर्मचारीमाथि भएको कुटपिटको घटनाबारे अनुसन्धान भइरहेको र हाल स्थिति नियन्त्रणमा आइसकेको जानकारी दिए।

यस घटनालाई निलम्बित मेयर यादवले आफ्नो शान्तिपूर्ण आन्दोलनमाथि कार्यवाहक मेयर पक्षले गरेको दमनको परिणाम भएको बताएका छन्। अर्कातर्फ, कार्यवाहक मेयर परविनले औचित्यहीन आन्दोलनले विकास निर्माण रोकेकाले आफूले निकास दिन खोजेको दाबी गरिन्।

‘भ्रष्टाचार भएको भए छानबिन गर्ने निकाय छन्, आन्दोलनले जनताको विकास रोकिन्छ,’ उनले भनिन्।