धनुषाको औरही गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण ठेक्कामा करिब सात करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका सांसदसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले मंगलबार दायर गरेको मुद्दामा तत्कालीन गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादव, प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर र ठेक्का पाउने कम्पनीका तत्कालीन प्रबन्धक तथा नेकपा (एमाले) बाट निर्वाचित हालका प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरलाई मुख्य प्रतिवादी बनाइएको छ।
आयोगका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले निकालेको २४ करोड ४३ लाखको ठेक्कामा सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीलाई प्राविधिक रूपमा अयोग्य देखाउँदै ६ करोड ७९ लाख रुपैयाँ बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिएर राज्यकोषमा हानि पुर्याइएको हो।
अस्पताल निर्माणका लागि सबैभन्दा कम १२ करोड ३५ लाख रुपैयाँ प्रस्ताव गर्ने ‘प्रतिष्ठा/धुलिखेल जेभी’ लाई पाखा लगाउँदै १९ करोड १४ लाख रुपैयाँ कबोल गर्ने ‘लुम्बिनी बिल्डर्स जेभी’ लाई गैरकानुनी रूपमा छनोट गरिएको थियो। अख्तियारले दुई प्रस्तावको यही अन्तर रकमलाई भ्रष्टाचार भएको दाबी गरेको छ।


मुद्दामा तत्कालीन गाउँपालिका उपाध्यक्ष मीरादेवी सहनी, तत्कालीन वडाध्यक्षहरू अमितकुमार यादव, शिवनाथ साह, प्रमेश्वर साह, दिलिपकुमार साह तथा हालका वडाध्यक्षहरू अशेश्वर यादव र गंगाप्रसाद यादवलाई पनि प्रतिवादी बनाइएको छ।
त्यसैगरी, गाउँपालिकाका तत्कालीन इन्जिनियर सोनु साह, सब-इन्जिनियरद्वय सन्तोषकुमार मण्डल र विनीतकुमार साह, खरिदार मोहनकुमार मण्डल तथा लुम्बिनी बिल्डर्सका अर्का तत्कालीन प्रबन्धक विष्णुप्रसाद शर्माविरुद्ध पनि मुद्दा दायर भएको छ।



