☰ open Loading... 21 June 2025|  

जानकी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताको ९ करोड हिनामिना !
पश्चिम नेपाल   | १ असार २०८२, आईतवार १३:३०

कैलालीको जानकी गाउँपालिका अन्तर्गत ९ नं वडामा सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता भएको आरोप लागेको छ । जानकी गाउँपालिका वडा नम्बर ९मा सोझा साझा जनतालाई झुक्यानमा पारी करिब ९ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ।

भ्रष्टाचारविरुद्धको सामाजिक अभियान जानकी गाउँपालिका कैलालीले सो आरोप लगाएको हो । अभियानका संयोजक कृण्ण सोडारीले आर्थिक वर्ष ०७४/०७५ देखि ०७७/०७८ सम्म जानकी गाउँपालिका वडा नं।९ मा सामाजिक सुरक्षा (सासु) भत्तामा भएको अनियमितता भएको आरोप लगाउँदै सरकारका विभिन्न निकायमा उजुरी समेत गरेका छन् ।

उनले यो विषयमा २०७९ साउनमा अख्तियारको कञ्चनपुर कार्यालयमा उजुरी दिएका पनि बताए । ‘मैले अख्तियारमा प्रमाणसहित उजुरी समेत दिएको छु’, उनले नागरिकसँग भने ‘अहिलेसम्म कुनै कारबाही भएको वा अनुसन्धान टुङ्गिएको बारे जानकारी छैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूहरूको उजुरीलाई कारबाही अगाडि बढाउन ढिलासुस्ती गरेको समेत सोडारीको गुनासो थियो ।

उनका अनुसार वडा अध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेम बुढाको सो अवधिमा सामाजिक सुरक्षा भत्ताको नाममा ८ करोड ९६ लाखभन्दा बढी रकम हिनामिना गरेको छन् । आफूहरूले वडा अध्यक्ष भण्डारी र वडा सचिव बुढाविरुद्ध २०७९ साउनमा अख्तियारको शाखा कार्यालय कञ्चनपुरमा उजुरी दिएकोमा सो उजुरी २०८१ जेठमा काठमाडौं स्थानान्तरण गरिएको संयोजक सोडारीले बताए ।

अख्तियारको केन्द्रीय कार्यालयले पनि सो उजुरीउपर छानबिन भइरहेकोमात्रै जानकारी गराउँदै आएको भएपनि अहिलेसम्म अनुसन्धान नटुङ्गिँदा प्रमाण लोप हुने र आरोपीहरू भाग्ने खतरा रहेको पनि उनको धारणा छ । सो अवधिमा वडा अध्यक्ष भण्डारी र वडा सचिव बुढाले किर्ते गरी एउटै नागरिकता नम्बर राखेर नाममा फरक पारी दोहोरो, तेहोरो र चौथौँ पटकसम्म भत्ता बुझेको, मृत्यु दर्ता नगरी मृतकको नाममा भत्ता बुझेको अभियानको आरोप छ।

भ्रष्टाचारविरुद्धको सामाजिक अभियानका संयोजक सोडारीले सो मुद्दा यही आर्थिक वर्षभित्र विशेष अदालतमा दायर गर्न अख्तियारसँग माग गरे । ‘मुद्दा दर्ता हुने प्रक्रियामा नजाँदा हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुग्यौँ ’, उनले भने ‘हामीसँग पर्याप्त प्रमाण रहेको ती सबै प्रमाणहरू अख्तियारलाई दिएका छौ ।’

अभियानकर्ताहरूले आर्थिक वर्षको नवीकरण प्रतिवेदन ल्याब टेष्टको रिपोर्ट सहित २०८० भदौ ४ गी तत्कालीन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत भेट गरेका थिए । उनीहरुले गृह मन्त्रालयले पनि आफूहरूको गुनासो सुनुवाइ नगरेको बताए ।

‘हामीले तत्कालीन गृहमन्त्रीलाई पनि भेट्यौ धेरै ठूलो रकम दुरुपयोग भएकोमा चासो दिइएन’, सोडारीले भने ‘एउटै नागरिकता नम्बर नाममा फरक मिति पारेर दोहोरो तेहोरो र चौथी पटकसम्म भत्ता बुझेको पाइयो मृतकको नाममा भत्ता रकम बुझेको पाइयो ।’