इरान र इजरायलबिच विगत ७२ घण्टादेखि द्वन्द्व चलिरहेको छ। द्वन्द्व चलिरहँदा इजरायलले आइतबार इरानी विदेश मन्त्रालयमा आक्रमण गरेको छ। जसमा धेरै जना घाइते भएका छन्। यसको एक दिनअघि इरानी रक्षा मन्त्रालयमा पनि आक्रमण भएको थियो।
इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा हालसम्म २२४ जनाको मृत्यु भएको बताएको छ भने १ हजार २७७ जनाभन्दा बढी घाइते भएका छन्। यसैबिच, अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समूहले इरानमा ४०६ जनाको मृत्यु भएको दाबी गरेको छ।
इरानले पनि इजरायलमा सयौं क्षेप्यास्त्र प्रहार गरेको छ। यी आक्रमणहरूमा हालसम्म १९ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। यसैबिच, इरानले पाकिस्तानले इजरायलले तेहरानमा आणविक आक्रमण गरेमा इजरायलमा आणविक आक्रमण गर्ने ग्यारेन्टी दिएको बताएको छ।


यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा दुई देशबिच चाँडै सम्झौता हुने दाबी गरेका छन्। ट्रम्पले भारत र पाकिस्तानबिच युद्धविराम ल्याए झैं इजरायल र इरानबिचको युद्ध रोक्ने बताएका छन्। एजेन्सी



