☰ open Loading... 20 June 2025|  

पहिरोले राप्ती राजमार्ग रातिदेखि अवरुद्ध
पश्चिम नेपाल   | २ असार २०८२, सोमबार ०९:२६

पहिरोले राप्ती राजमार्ग आइतबार रातिदेखि अवरुद्ध भएको छ । राति परेको वर्षाका कारण कपुरकोट गाउँपालिका–३ चोरखोलामा ठूलो पहिरो खसेपछि राजमार्ग रातिदेखि नै अवरुद्ध भएको हो ।

राप्ती राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन सडकमै रोकिएका छन् । कपुरकोटबाट साततले निस्कने वैकल्पिक मार्ग समेत गाडी नचल्ने भएका कारण यात्रुहरु अलपत्र परेका छन् । कतिपय नजिकका यात्रु भने हिँडेर आउजाउ गर्न बाध्य छन् ।

आइतबार राती १०/११ बजेतिर पहिरो खसेको र सम्बन्धित निकायको डोजर, जेसिबीले पहिरो पन्छाउने काम गरे पनि पुन: ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताए ।

अहिले जेसिबी र डोजर लगाएर पहिरो हटाउने काम भैरहेको उनले जानकारी गराए । पहिरोका साथै सडक माथिबाट ढुंगा खसिरहेकाले गाडीबाट बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न उनले यात्रुलाई अनुरोध गरेका छन् ।

सडक माथिबाट ठूलो पहिरो खसेकाले हटाउन अझै समय लाग्ने उनको भनाइ छ । सडक विस्तार गर्ने क्रममा चोरखोलामा पहाड खलबलिएको र पहाडै चर्किएकाले सामान्य वर्षात्‌मा पनि पहिरो खस्ने गरेको छ । कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले सडक स्तरवृद्धि गर्ने क्रममा जेसिबी प्रयोग गरेर पहाड फोर्ने काम गरेकै कारण उक्त क्षेत्र पहिरोको उच्च जोखिममा परेको उनले जानकारी गराए ।