☰ open Loading... 20 June 2025|  

रामघाटमा लिची खेतीप्रति बढ्दो आकर्षण
पश्चिम नेपाल   | ४ असार २०८२, बुधबार १४:३१

भेरीगंगा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन्। परम्परागत रूपमा मकै खेती गर्ने यहाँका किसानले अब मकैका बारीमा लिची र आँपका बोट लगाउन थालेका छन्।

यो क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूल मानिन्छ। पछिल्ला केही वर्षदेखि मकै खेतीको तुलनामा फलफूल खेती बढी लाभदायक देखेपछि किसानले बारीका डिल, छेउछाउ र घर आँगनमा लिची र आँपका बिरुवा रोप्न थालेका छन्।

गाउँभर अहिले लिची टिप्न किसानलाई भ्याइ-नभ्याइ छ। किसानहरू हरेक दिन भ¥याङ ठड्याएर लिचीका दाना टिप्न व्यस्त देखिन्छन्। रामघाट-११ की रूपा धौलाकोटीले लिची उत्पादनबाट वार्षिक लाखौँ आम्दानी गरिरहेको बताए। ४६ वर्षीया धौलाकोटीले करिब चार बिघामा ३० वटा लिचीका बोट र १५० वटा आँपका बोट रोपेका छन्। २५ वर्षअघि रोपेका लिची र आँप उनको आम्दानीको स्रोत बनेका छन्। ‘यसपालि हावाहुरीले आँपमा असर ग¥यो, तर लिची राम्रो फल्यो,’ उनले भने।

उनका अनुसार बोटमै प्रतिकिलो रु १०० देखि रु १५० सम्ममा लिची बिक्री हुन्छ। ग्राहक आफैँ किसानको घरमा आउने भएकाले बजार खोज्न नपर्ने उनले बताए। ‘वार्षिक रूपमा लिचीबाट मात्र एक लाखभन्दा बढी आम्दानी हुन्छ,’ उनले भने, ‘यस आम्दानीले घर खर्च धान्न र केही बचत गर्न सकेको छु।’

उनले थपे, ‘बाहिरबाट ल्याइने फलफूलमा विषादीको मात्रा बढी हुने भएकाले ग्राहक आफैँ बगैंचामा आउँछन्, यसले हामीलाई बजार खोज्न नपर्ने र राम्रो मूल्य पाएका छौँ।’

रूपाजस्तै रामघाट-११ का किसान टेकबहादुर धमला पनि लिची टिप्न व्यस्त छन्। पाँच रोपनी जमिनमा लिची खेती गर्ने धमलाले यस वर्ष पनि लाखौँ रुपैयाँ आम्दानी गरेको बताए। ‘यो वर्ष कीराले लिची उत्पादन अघिल्ला वर्षहरूजस्तो धेरै भएन, तैपनि झन्डै एक लाख जति आम्दानी भयो,’ उनले भने।

धमलाका अनुसार लिची खेतीले राम्रो आम्दानी दिन्छ। उनले भने, ‘पानी, मल र समयमै हेरचाह गर्न सके राम्रो फल्छ र बजारमा राम्रो मूल्य पाइन्छ। अहिले लिचीको माग पनि बढ्दो छ।’

रामघाटमा प्रायः सबै घरमा दुई-चारवटा लिचीका बोट देखिन्छन्। कतिपय किसानले लिचीलाई व्यावसायिक रूपमा विस्तार गर्न थालेका छन्। धमलाले थपे, ‘अहिले गाउँका धेरै किसान लिची खेती गर्न थालेका छन्। सुरुको लगानी धेरै नपर्ने र बजार सहज भएकाले लिची आकर्षक बन्दै गएको हो।’ उनको भनाइ छ, सरकारले मल, प्राविधिक सहयोग र बजार सुनिश्चितता गरिदिए लिची खेतीमा किसानको आकर्षण बढेको हो।

हाल रामघाटका किसानले आफ्नै क्षेत्रका बजार, वीरेन्द्रनगर, नेपालगन्ज र दाङमा लिची बिक्री गरिरहेका छन्। भेरीगंगा नगरपालिका कृषि विकास शाखाका प्रमुख सुरज बिसीका अनुसार रामघाटको वडा नम्बर ११ र १३ लिची र आँप उत्पादनका मुख्य केन्द्र हुन्। उनले भने, ‘रामघाटको वडा नम्बर १२, ७ र ८ मा लिची उत्पादनका लागि वातावरणीय अवस्था उपयुक्त छ। यहाँको हावापानी र जमिनको बनावट फलफूल खेतीका लागि अनुकूल छ।’

रामघाट क्षेत्रमा हाल फलफूलका विभिन्न जात व्यावसायिक रूपमा लगाइएका छन्। आँप २९.९ हेक्टर, सुन्तला ३.१ हेक्टर, केरा १६ हेक्टर, कागती ७.८ हेक्टर र लिची १३.५ हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ। रामघाट क्षेत्रको झन्डै ८० प्रतिशत भूभाग वडा नम्बर ११ र १३ ले ओगटेको छ।

कृषि विकास शाखाका प्रमुख बिसीका अनुसार भेरीगंगा नगरपालिकाले किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ। उनले भने, ‘किसान, किसान समूह, कृषि सहकारी र कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा आँप, लिची र कागतीका बोटबिरुवा वितरण गरिने कार्यक्रम यस वर्ष पनि सञ्चालनमा छ। फलफूल बगैंचा सुधार र क्षेत्र विस्तारलाई प्राथमिकता दिएका छौँ।’