☰ open Loading... 20 June 2025|  

चामुण्डाबिन्द्रासैनी नगरपालिकाले निजी संस्थाको खातामा मात्रै ११ लाख रकम सोझै भुक्तानी
पश्चिम नेपाल   | ५ असार २०८२, बिहीबार १२:१३

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले विभिन्न निजी संस्थाहरूलाई सरकारी रकम प्रतिफल नदिने गरी सोझै भुक्तानी दिएको पाइएको छ । नगरपालिकाले कानुनी प्रक्रिया नअपनाई विभिन्न निजी संस्था तथा एउटै संस्थालाई प्रत्यक्ष रूपमा दोहोरो भुक्तानी दिएको पाइएको हो ।

यो कार्य नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २४ को उपदफा २ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (५) विपरीत रहेको पाइएको छ ।कानुन अनुसार सरकारी रकम खर्च गर्दा उच्चतम प्रतिफल प्राप्त हुने, गुणस्तर कायम हुने गरी मितव्ययी तरिकाले खर्च गर्नुपर्ने र खर्च पुष्टि गर्ने कागजातहरू सङ्कलन गरी लेखा राख्नुपर्ने व्यवस्था छ ।

तर नगरपालिकाले कानुनको उल्लङ्घन गर्दै श्रमजीवी बचत तथा ऋण सहकारी संस्थामा कार्यरत चित्र बहादुर शाहीलाई तलब बापत ९७ हजार, रेडियो हाम्रो समावेशी ९८.३ मेगाहर्जमा कार्यरत ४ जना कर्मचारीलाई वार्षिक तलब र घर भाडा बापत ५ लाख, सामुदायिक कृषि प्रसार सेवा केन्द्रकी नन्दा कुमारी शाहीलाई तलब बापत ८७ हजार २९०, देउती कृषि तथा बहुउद्देश्यीय सहकारीलाई बिल बेगर २ लाख ५० हजार भुक्तानी दिएको छ ।

यस्तै सोही रेडियो संस्थालाई सार्वजनिक सुनुवाइमा विभिन्न विलका आधारमा २ लाख २१ हजार ८०५ रुपैयाँ गरी कुल ११ लाख ५६ हजार ९५ रुपैयाँ गैरकानुनी रूपमा खर्च गरिएको र सो रकम सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्नुपर्ने महालेखा कार्यालयले उल्लेख गरेको छ ।