☰ open Loading... 20 June 2025|  

चामुण्डाबिन्द्रासैनी नगरपालिकाले ऐन विपरीतकै कर्मचारीमा सकियो डेढ करोड
पश्चिम नेपाल   | ५ असार २०८२, बिहीबार १२:१७

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले एकै वर्षमा नियमविपरित नियुक्ति गरेका कर्मचारीमै डेढ करोड रकम खर्च गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) को व्यवस्था विपरीत कर्मचारी नियुक्ति गरेर एक करोड ५४ लाख ३१ हजार ३११ रुपैयाँ खर्च गरेको छ ।

मलेपको प्रतिवेदन अनुसार पालिकाले ऐनमा उल्लेख गरिएका सीमित पदहरूबाहेक अन्य पदमा करार सेवामा नियुक्ति दिई तलब भत्ता भुक्तानी गरेको पाइएको हो ।

ऐन अनुसार नगर प्रहरी, सवारी चालक, सहायक (सयस), बगैंचे, प्लम्बर जस्ता पदहरूमा मात्र करारमा नियुक्ति दिन सकिने प्रावधान छ । तर, नगरपालिकाले यो कानुनी सीमा नाघी अन्य पदहरूमा करारमा कर्मचारी राखेर तलब भत्ता बापत सो रकम भुक्तानी दिएको हो ।

यसरी कानुनी व्यवस्था उल्लङ्घन गर्दै कर्मचारी नियुक्ति र तलब भुक्तानी कार्य विधिसम्मत नरहेको र उक्त रकम अनियमित भएको ठहर महालेखाले गरेको छ ।