दैलेखमा पेट्रोलियम पदार्थ भएको अनुमानका आधारमा गरिएको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास भेटिएको छ। चिनियाँ विज्ञहरूको टोलीले गरेको अन्वेषणमा दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा एक सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको खानी तथा भूगर्भ विभागले जनाएको छ।
नेपालले ग्यास विदेशबाट आयात गरेर प्रयोग गरिरहेको अवस्थामा स्वदेशमै ठुलो परिमाणमा ग्यास रहेको पुष्टि भएको खानी तथा भूगर्भ विभागका सूचना अधिकारी डा. मुकुन्द भट्टराईले बताए। ‘चिनियाँ विज्ञले गरेको अध्ययनमा एक सय १२ अर्ब घनमिटर ग्यास रहेको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको छ,’ भट्टराईले भने, ‘यो प्राकृतिक ग्यास ऊर्जाको स्रोत हो।’
व्यावसायिक रूपमा उत्पादन गर्न मिल्ने/नमिल्ने विषयमा अन्तिम प्रतिवेदनबाट टुंगो लाग्ने उनले बताए। भट्टराईका अनुसार यो ग्यास रासायनिक पदार्थ उत्पादनमा कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ। यसलाई इन्धनका रूपमा र विभिन्न औद्योगिक प्रक्रियाहरूमा प्रयोग गरिन्छ।
दैलेखका अन्य तीनवटा स्थानमा पनि मिथेन ग्यास रहेको बताइएको छ। चिनियाँ टोलीले दिएको प्रतिवेदनअनुसार नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको अनुमान गरिएको छ। विभागका अनुसार करिब चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गरिएको छ। यो ग्यास व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सके मुलुकको अर्थतन्त्रलाई ठुलो योगदान पुग्नेछ। एक ठाउँमा एक सय १२ अर्ब घनमिटर रहेको र अन्य तीन वटा भण्डारण पनि रहेको अध्ययनमा देखिएको छ।


चीनको जिओलोजिकल सर्भे कम्पनीले २०२५ को डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिनेछ। चीनको चाइना जिओलोजिकल सर्भेले भौगर्भिक अध्ययन गरेको हो भने चीनकै सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनीले जमिनमा ड्रिलिङ गरेर अध्ययन गरेको हो। विज्ञको टोलीले नमुना संकलन गरी चीनको प्रयोगशालामा परीक्षण गरिएको हो।
२०७२ सालमा भारतले नाकाबन्दी लगाउँदा पेट्रोलियम पदार्थको विकल्पबारे छलफल सुरु भएको थियो। त्यसपछि सरकारले चीनलाई पेट्रोलियम पदार्थ र ग्याँसको अध्ययन गर्न अनुरोध गरेको थियो। चीनका विज्ञसहितको टोलीले २०७६ देखि अन्वेषण सुरु गरेको थियो।



