☰ open Loading... 20 June 2025|  

पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र नासु अख्तियारको नियन्त्रणमा
पश्चिम नेपाल   | ६ असार २०८२, शुक्रबार १६:५२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिकामा भएको भनिएको भ्रष्टाचार र अनियमितताको अनुसन्धानका क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र एक नायब सुब्बालाई पक्राउ गरेको छ।

विभिन्न योजना स्वीकृति र कर्मचारी नियुक्तिमा अनियमितता गरेको उजुरीका आधारमा आयोगको टोलीले उनीहरूलाई शुक्रबार पर्साको वीरगन्जबाट नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार पक्राउ पर्नेमा पोखरीया नगरपालिकाका (हाल बहुदरमाई नगरपालिका) तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साह रहेका छन्।

उनीहरूलाई वीरगन्ज महानगरपालिकाको वडा नं. १२ स्थित प्रतिमा चोक र वडा नं. ३ प्रगतिनगरबाट ४ थान मोबाइलसहित पक्राउ गरिएको आयोगले जनाएको छ।

यस प्रकरणमा आयोगले अनुसन्धानको दायरा फराकिलो बनाउँदै पोखरीया नगरपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र वडा नं. २ का सचिव ओम प्रकाश चौरसियाको साथबाट समेत २ थान मोबाइल बरामद गरेको छ।

उनीहरूमाथि पनि थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, पोखरीया नगरपालिकामा कार्यरत कर्मचारीहरूले विभिन्न योजना र कर्मचारी नियुक्तिमा भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।

सोही अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।