मुगुको सोरु गाउँपालिकाका लेखा अधिकृत आर्थिक वर्षको अन्त्यमा काम छाडेर भागेको आरोप लागेको छ।
गाउँपालिका अध्यक्षले लेखा अधिकृतलाई निलम्बनको धम्की दिएका छन्, भने अधिकृतले आफू बिरामी भएको बताएका छन्।
लेखा अधिकृतको अनुपस्थितिका कारण योजनाको भुक्तानी, तलबभत्ता र आर्थिक कारोबार प्रभावित भएको छ।
सुर्खेत । आर्थिक वर्षको अन्त्यसँगै बजेट कार्यान्वयनको चटारोमा रहेका वेला मुगुको सोरु गाउँपालिकामा लेखा अधिकृत भागेको भन्दै कचिङ्गल सुरु भएको छ ।
आर्थिक कारोबार र भुक्तानीको चाप उत्कर्षमा पुगेका वेला वरिष्ठ लेखा अधिकृत कुमारप्रसाद उपाध्याय मुगुबाट भागेको भन्दै गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले निलम्बनको धम्की दिएका छन् ।
अध्यक्ष शाहीले लेखा अधिकृत उपाध्यायलाई जिल्लाबाटै भागेको आरोप लगाएका हुन् । आइतबार लेखेको पत्रमा भनिएको छ, ‘आर्थिक वर्षको अन्त्यमा सम्पूर्ण कामकाज र भुक्तानीको काम नगरी गैरजिम्मेवार तवरले उपचार गर्न जिल्ला सदरमुकामग गमगढी जान्छु भनी जिल्लाबाटै कर्तव्यविमुख र गैरजिम्मेवार भई भाग्नुभएको म र हाम्रो गाउँपालिकालाई जानकारी भयो ।’
शाहीले असार १४ गते गाउँपालिकाबाट गैरजिम्मेवार तवरले औपचारिक अनुमतिबिना नै जिल्लाबाट भागेको दाबी गरेका छन् । पत्रमा भनिएको छ, ‘जिल्लाबाटै भाग्ने तपाईंजस्तो कर्मचारीले तीन दिनभित्र गाउँपालिकामा फिर्ता भएर कामकाजमा नियमित हुन जानकारी गराइन्छ ।’
यदि त्यसो नगरे कार्यपालिकाको निर्णयबाट स्थानीय तहको सेवाबाटै निलम्बन गरिने धम्की शाहीले दिएका छन् ।सोरु गाउँपालिका विगत केही महिनादेखि प्रमुख प्रशासकीयविहीन थियो । केही दिनअघि मात्रै सिंहराज डाँगी हाकिम भएर आएका छन् ।
उनी आएपछि मात्रै पालिकाको खाता सञ्चालनमा आएको थियो । तर हाकिम आएको केही दिनमै लेखा अधिकृत अनुपस्थित हुँदा सबै काम रोकिएको अध्यक्ष शाहीको भनाइ छ ।
आर्थिक वर्षको अन्तिममा लेखा अधिकृतजस्तो जिम्मेवार पदको कर्मचारी अनुपस्थित हुँदा योजनाको भुक्तानी, तलबभत्ता तथा अन्य आर्थिक कारोबार पूर्ण रूपमा प्रभावित भएका छन् ।
‘बिरामी छु’
रातोपाटीले लेखा अधिकृत उपाध्यायलाई सम्पर्क गर्दा उनले आफू बिरामी परेर सुर्खेत झरेको बताए । भने, ‘सुरुमा मुगुको सदरमुकाम गमगढी जाने भन्ने तरिकाले आएको थिएँ, त्यहाँ उपचार गरेर फर्किहाल्ने भन्ने थियो ।’
तर शनिबार साँझ आफूलाई गाह्रो भएपछि सुर्खेत जानुपर्ने म्याासेज हाकिमलाई छोडेको उनले दाबी गरे । ‘मलाई सन्चो नभएर सुर्खेत आएको हुँ, सुर्खेतको राना हस्पिटल (निजी) मा उपचार गराइरहेको छु,’ उनले थपे, ‘शनिबार र आइतबार (धान दिवस) सार्वजनिक बिदा परेको थियो । सार्वजनिक बिदाको दिन जानकारी दिनुपर्छ भन्ने त छैन । तर मौखिक रूपमा म्यासेज गरेको थिएँ ।’
निलम्बन गर्ने धम्कीको विषयमा उनले भने, ‘के मैले भ्रष्टाचार गरेर निलम्बन हुनुलाई ? मानव भइसकेपछि स्वास्थ्यसम्बन्धी मौलिक हक सबैलाई हुने भएकाले उपचार गर्नु मेरो अधिकार हो ।’
सन्चो भएपछि कार्यालयको नियमित काममा फर्किने उनले बताए । लेखा अधिकृत उपाध्यायको पक्षमा कर्मचारीको हकहित संरक्षण मञ्च कर्णाली प्रदेश समिति उभिएको छ । उपाध्याय बिरामी भई उपचाररत रहेको अवस्थामा कारबाही प्रक्रिया अगाडि बढाएको भन्दै उक्त मञ्चले त्यसको निन्दा गरेको छ ।
मञ्चका अध्यक्ष ईश्वर बहादुर सिंहद्वारा शनिबार जारी विज्ञप्तिमा ‘उपाध्याय अकस्मात् बिरामी भई सुर्खेतमा उपचार गराइरहेको अवस्थामा गाउँपालिकाले मानवीय संवेदना नदेखाई उल्टै कारबाहीको चेतावनी दिएको र उनको चरित्र हत्या गर्ने गरी भ्रामक समाचार फैलाएको’मा आपत्ति जनाइएको छ ।
गाउँपालिकाको यस्तो कार्य गैरकानुनी र कर्मचारीतन्त्रमाथिको प्रहार भएको मञ्चको ठहर छ । विज्ञप्तिमा भनिएको छ– ‘यदि यस्तो गैरकानुनी कारबाही अगाडि बढाइएमा मञ्चले कानुनी तथा दबाबमूलक रुपमा प्रतिवाद गर्न बाध्य हुने छ ।’
तर गाउँपालिकाका अध्यक्ष शाहीले भने लेखा अधिकृत उपाध्यायले आफू बिरामी भएर सुर्खेत जान लागेको कुरा जानकारी नगराएको दाबी गरे ।‘हाकिमलाई गमगढी जाने र उपचार गरी बेलुका आउँछु भनेर जानुभएको रहेछ, उहाँ बिरामी हुनुहुन्थ्यो वा हुनुहुन्थेन,’ शाहीले रातोपाटीसँग भने, ‘उहाँ गमगढी नै पुग्नु भो वा भएन, सीधै नाग्म हो वा कता पुगेपछि म बाटोमा आएँ हाकिमसाब उपचार गर्न जान्छु भन्नुभएको रहेछ ।’
झोला नै लगेर गएको र औपचारिक रुपमा जानकारी नगराएपछि ‘भागेरै गएकोजस्तो लाग्छ’ भन्ने खालको रिपोर्ट हाकिमले आफुलाई सुनाएको उनले बताए । ‘उहाँ गएपछि नआउने पो हो कि, असार मसान्त लागेको छ, के हुन्छ भन्ने भएपछि हामीले पत्र काटेको हो,’ उनले थप प्रस्ट पारे, ‘मैले जिल्लाको सिडिओसँग पनि समन्वय गरेर जिल्लामा भए उहाँलाई फर्कादिन भनेको थिएँ ।’
शाहीले लेखा अधिकृत उपाध्याय सुर्खेतमा भएको कुरा भने अझै थाहा नपाएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले पनि उपाध्यायले कसैलाई थाहै नदिएर हिँडेको दाबी गरे । आफुले बाहिरी स्रोतबाट नै सुर्खेत गएको कुरा थाहा पाएको उनको भनाइ थियो ।
दुर्गमका नाममा भाग्ने ‘बिरामी प्रवृत्ति’
प्रमुख प्रशासकीय अधिकृत डाँगीले दुर्गममा रहेका कर्मचारीहरूले बिरामीको बहनामा काम टार्ने गरेको दुखान्त सुनाए ।
उनको भनाइ जस्ताको त्यस्तैः पहिलो कुरा उहाँ (लेखा अधिकृत) ले चेकअपका लागि सदरमुकाम मात्र जान्छु, बेलुका फर्किहाल्छु भन्नुभयो । जिल्लामा १४ जना डाक्टर हुनुहुन्छ, सबै सुविधा छ । तर उहाँले एकदिन पनि नकुरी, कसैलाई जानकारी नदिई त्यहाँबाट हिँड्नुभएछ । यो कुरा हामीले बाहिरी स्रोतबाट मात्रै थाह पायौँ ।
अहिले असारको बेला छ । म यहाँ आएको छ दिन भयो । तीन–चार महिनादेखि हाकिम नहुँदा गाउँपालिकाको काम ठप्प थियो । बल्ल खाता सञ्चालन गराएको छु । यस्तो संकटको अवस्थामा मलाई काठमाडौंबाट यहाँ ल्याइएको हो । मलाई त बदनाम गराउन ल्याइएजस्तो महसुस भइरहेको छ, अहिले ।
कम्तीमा झोला कस्दाखेरि ‘सर, मलाई सन्चो भएन, यहाँको उपचारमा भर लागेन, तल जानुपर्यो’ भन्न सक्नुहुन्थ्यो । मैले उहाँलाई पहिलेदेखि चिनेको हुँ । कुनैबेला मैले उहाँलाई तीन महिना अध्ययन बिदा दिएको थिएँ, सरुवाका लागि पनि सहयोग गरेको थिएँ । अहिले पढेर बढुवा हुनुभयो । तर उहाँले बाटोबाटै आफ्नो दिशा बदलेर अन्यत्र जानुभयो, जुन कुरा हामीले अरूबाटै थाहा पायौं ।
यो एक व्यक्तिमा मात्र सीमित समस्या होइन, यो दुर्गमको प्रवृत्ति नै हो । बिरामीको बहानामा दुर्गममा कर्मचारी नबस्ने चलन छ ।
जिल्लामा उपचारको सुविधा हुँदाहुँदै पनि उहाँ तल भाग्नुभयो । १५ गतेसम्म बिल भरपाई ल्याउनु छ, २० गतेसम्म निकासा दिनु छ, आर्थिक वर्ष समाप्त हुँदैछ । यस्तो बेलामा काम ठप्प भएको छ ।
मलाई त बदनाम गर्न ल्याएजस्तो भएको छु । यो प्रवृत्तिविरुद्ध मैले कदम चालेको छु । आज (सोमबार) मात्रै मैले १३ जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छु, जसमा तीन जना त ९० दिनभन्दा बढी अनुपस्थित छन् । १/३ को वडा सचिव (दुवै महिला) कहाँ हुनुहुन्छ थाहा छैन । कार्यालयका अन्य ११ जना साथीहरू कोही २७ दिन, कोही ४० दिनदेखि अनुपस्थित छन् । यो बिरामी छु भन्ने र यहाँबाट भाग्ने प्रवृत्ति नै हो । यो समस्या पुरानै हो ।
उनीहरुले राज्यबाट सेवा, सुविधा लिएका छन् । तर यहाँ काम नगर्ने, गाउँपालिका सरकारलाई असहयोग गर्ने भए । अध्यक्षले यिनीहरुलाई यसअघि हातखुट्टै जोड्नु भएको रहेछ । तर पनि यिनीहरुले कहिल्यै सहयोग गरेनन् र म भन्दा अघिका हाकिमलाई यिनै कर्मचारीले असहयोग गरेर राजीनामा दिन बाध्य बनाए । त्यसमा कारक उहाँ (उपाध्याय) पनि हो । पछि कोही हाकिम नआएपछि पशु सेवाका डाक्टरलाई हाकिम बनाइयो, उहाँलाई पनि १५–२० दिनभन्दा बढी टिक्न दिएनन् । दुर्गममा सक्षम कर्मचारी नआउने, भएका पनि यस्तै बहाना बनाएर नबस्ने समस्या छ । अध्यक्षज्यूले पनि उहाँहरूलाई सम्झाउँदा–सम्झाउँदा हैरान भएर एकजनालाई कारबाही नगरी हुँदैन भनेर चेतावनी दिनु भएको हो ।
तर पनि मैले आज बिहान उहाँलाई फोन गरेर भनेँ, ‘बिरामी नै हो भने आरामले उपचार गर्नुस्, तर लेखापाललाई सबै कामको जिम्मा दिनुस् ।’ तर उहाँले उल्टै लेखापाललाई ‘तलबबाहेक अरू काम नगर्नुस्, मेरो काम नछुनुस्’ भनेर अड्काइदिनुभएछ । यो कस्तो तरिका हो ? आफू पनि नआउने, काम गर्नेलाई पनि रोक्ने ? त्यसैले मैले उहाँ (लेखापाल)लाई सबै कामको जिम्मा दिनुस् भनेर भनेको छु । आफ्नो उपचार पूरा गरेर, रिपोर्ट लिएर मात्र आउन भनेको छु । इमान्दारिता राख्नुस्, तर काम रोक्ने काम नगर्नुस् भनेको छु ।
म पनि कार्यालय प्रमुख हुँ, म भ्रष्टाचार हुने वा डुब्ने काममा टोकादेश लगाउँदिनँ, काम गर्ने वातावरण बनाउँछु । अब अन्तिम निर्णय कार्यपालिकाले गर्छ । यदि उहाँ साँच्चै इमान्दार हुनुहुन्छ भने कारबाहीबाट बचाउनु मेरो धर्म हो, किनकि म त्यो बैठकको सदस्य–सचिव पनि हुँ ।
तर दुर्गममा देखिएको यो बेथिति, गुटबन्दी र जनप्रतिनिधिलाई असहयोग गर्ने, अनि दुर्गम भत्ता र टीएडीए खाएर भाग्ने प्रवृत्तिको अन्त्य गर्न यो पटक प्रहार भएको छ ।