जुम्लाको एक उच्च हिमाली पाटनमा चट्याङ पर्दा एक जना भेडागोठाला गम्भीर घाइते भएका छन् भने दुई सय भेडा मरेका छन्।
जिल्लाको गुठिचौर गाउँपालिका-५ स्थित धौलीगाडको ठूलो हाका पाटनमा सोमबार दिउँसो साढे ४ बजेतिर उक्त घटना भएको हो। चट्याङ लागेर सिंजा गाउँपालिका-६, भाडगाउँका ५२ वर्षीय धनबहादुर रावत गम्भीर घाइते भएका छन्।
प्रत्यक्षदर्शी गोविन बुढाका अनुसार, घाइते रावत अचेत अवस्थामा छन्। उनको नाक तथा मुखबाट निरन्तर रगत बगिरहेको छ। चट्याङको झट्काले उनको शरीरका कपडासमेत च्यात्तिएको छ।
प्रत्यक्षदर्शी बुढाले भने, ‘दिउँसो बेस्सरी असिना परेको थियो। भेडाहरू एकै ठाउँमा जम्मा भएको बेला चट्याङ परेको हो।’ उक्त पाटनमा ६ जना किसानले सामूहिक रूपमा चराउन लगेका करिब ९ सय भेडामध्ये २ सय भेडा मरेका छन्।
घटनास्थल जुम्ला सदरमुकाम खलंगादेखि करिब १० घण्टाको पैदल दूरीमा पर्ने भएकाले उद्धारमा कठिनाइ भएको छ।
यता, जिल्ला प्रशासन कार्यालय जुम्लाले घाइते रावतको तत्काल उद्धारका लागि गृह मन्त्रालयसमक्ष हेलिकप्टरको व्यवस्थापन गर्न अनुरोध गरेको छ।
घटनास्थल विकट भएकाले स्थलमार्गबाट उद्धार गर्न कठिन हुने हुँदा हेलिकप्टर मागिएको प्रशासनले जनाएको छ।
यसैबीच, जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी, स्वास्थ्य सामग्रीसहित सशस्त्र प्रहरी र विपद् व्यवस्थापनको टोली घटनास्थलतर्फ पैदल हिँडिसकेको जानकारी आएको सामाजिक संजाल मार्फत् जानकारी दिएका छन्।
सांसद शाहीले भनेका छने, ‘राति परेकाले हेलिकप्टरबाट उद्धार गर्न आज सम्भव भएन। आवश्यक परेमा भोलि बिहान मात्रै हेलिकप्टर पठाउन सकिने जानकारी गृह मन्त्रालयबाट आएको छ। धैर्यधारण गरिदिनुहुन अनुरोध गर्दछु।’