जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक मिडिया हाउसको कार्यालयबाटै नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने एक ठुलो गिरोहलाई पक्राउ गरेको छ ।
प्रहरीले करिब १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोग्रामभन्दा बढी अफिम जस्तो देखिने पदार्थ र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नक्कली नोट चलाउँदै गरेको अवस्थामा जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई ६ हजार नक्कली रुपैयाँसहित पक्राउ गरेको थियो ।
उनको बयानको आधारमा प्रहरीले सोही दिन जाजरकोट कुशे गाउँपालिका–५ कै ३३ वर्षीय राम बहादुर सिंहको डेरामा छापा मारी १२ लाख ३६ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गर्यो ।
अनुसन्धानलाई थप अगाडि बढाउँदै प्रहरीले जाजरकोटकै कुशे गाउँपालिका–७ का ३५ वर्षीय कृष्ण बहादुर वलीलाई भेरीगंगा नगरपालिका–१२ बाट ११ किलोग्राम ३७२ ग्राम अफिमजस्तो देखिने पदार्थसहित पक्राउ गर्यो ।
यही गिरोहको अनुसन्धान गर्ने क्रममा प्रहरी टोली बाँकेको कोहलपुरसम्म पुग्यो । कोहलपुर नगरपालिका–११, न्यूरोडमा रहेको ’जनगर्जन नेटवर्क प्रालि नामक मिडिया हाउसमा छापा मार्दा प्रहरीले नक्कली नोट छाप्ने कारखाना नै फेला पारेको थियो ।
कार्यालयका सञ्चालक कालिकोट नरहरिनाथ गाउँपालिका–९ घर भएका ३४ वर्षीय मन बहादुर सहकारी र एक अन्य व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिडिया हाउसबाट प्रहरीले थप ५१ हजार रुपैयाँ नक्कली नोट, १९ किलो ३०० ग्राम अफिमजस्तो देखिने पदार्थ, र नोट छाप्न प्रयोग हुने क्यानोन, प्रिन्टर, कम्प्युटर, कार्ड रिडर, क्यामेरा लगायतका उपकरणहरू बरामद गरेको छ ।