☰ open Loading... 27 September 2025|  

गिरीमाथिको कारबाहीले राप्रपामा हंगामा, कर्णालीका अध्यक्षहरूले पठाए पुनर्बहालीको पत्र
पश्चिम नेपाल   | ५ श्रावण २०८२, सोमबार १०:५२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पार्टीको जिम्मेवार पदबाट मुक्त गरेको विषयप्रति कर्णालीका जिल्ला अध्यक्षहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।

स्थापनाकालदेखि अनवरत रूपमा पार्टीमा सक्रिय रहेका गिरीले पार्टीलाई दिएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरिएको आरोप समेत उनीहरूले लगाएका छन्। सामूहिक वक्तव्यमा बिना कुनै सूचना र स्पष्टीकरण निष्ठावान् नेता गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट हटाएको आरोप लगाइएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको यो कदमले कर्णाली प्रदेशमा पहिल्यै कमजोर संगठन एकातिर थप कमजोर हुनुका साथै कार्यकर्तामा निराशा बढेको उनीहरूको भनाइ छ। यो कार्यप्रति असहमति जनाउँदै पार्टीको बृहत् हितलाई ध्यानमा राखेर उनलाई विधानविपरीत गरिएको कारबाही तुरुन्त फिर्ता गरी पहिलेकै जिम्मेवारीमा नेता गिरीलाई पुनर्स्थापना गर्न अनुरोध गरेका छन्।