विसं २०६१ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) भर्ना भएका वीरेन्द्र थापालाई एसपी बढुवामा पाँचौं पटक पनि छुटाइएको छ ।
पाँचौं पटकसम्म थापालाई बढुवामा छुटाउँदा उनीभन्दा जुनियर सात जनालाई एसपीमा बढुवा गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत रहेका डीएसपी थापा अहिलेको बढुवा सूचीको प्रतिस्पर्धामा तेस्रो नम्बरमा थिए ।
उनकै ब्याचका अनिल कुमार खड्का, दीपेन्द्र पञ्जियार, महेश थापा र महेन्द्र नेपाल पनि प्रतिष्पर्धामा थिए । उनीहरू चारै जनासहित उनीहरूभन्दा झण्डै दुई वर्ष जुनियर डीएसपी एसपी बढुवामा सिफारिस हुँदा थापा भने पाँचौँ पटक बढुवामा छुटाइए ।
बढुवामा छुटाइएसँगै २०६१ सालमा इन्स्पेक्टरमा भर्ना भएका उनी नेपाल प्रहरीका एक्ला डीएसपी हुन् । जबकी उनीभन्दा जुनियर २०६२ मा भर्ना भएका इन्स्पेक्टरहरू समेत एसपी बनिसकेका छन् ।
डीएसपी थापालाई छुटाइएको यो पहिलोपटक भने होइन । बढुवाका लागि विसं २०६१ र ०६२ भदौमा इन्स्पेक्टर भर्ना भएका टोलीहरू प्रतिस्पर्धामा थिए । तर डेढ वर्ष सिनियर भएको र कारबाहीमा समेत नपरेका डीएसपी थापा भने बढुवामा छुटाइए । थापा २०७२ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए । त्यसको २ वर्षपछि २०७४ मा डीएसपीमा बढुवा भएका अहिले एसपी बढुवाका लागि सिफारिस हुँदा उनी भने छुटाइए ।