☰ open Loading... 4 November 2025|  

सुदूरपश्चिम सरकारले ९ अर्ब रुपैयाँ खर्च गर्न सकेन, समानीकरणको दुई अर्ब फिर्ता
पश्चिम नेपाल   | ८ श्रावण २०८२, बिहीबार १२:१७

आर्थिक वर्ष २०८१/०८२ मा सुदूरपश्चिम प्रदेश सरकारले नौ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गर्न सकेन। प्रदेशको विनियोजित बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ रहेकोमा चालु र पुँजीगत समेत गरी २२ अर्ब २२ करोड २१ लाख ४१ हजार रुपैयाँमात्रै खर्च गर्न सकेको हो।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्ष खर्च गर्न नसकेका कारण ९ अर्ब ४० करोड ७६ लाख ८६ हजार रुपैयाँ फ्रीज भएको छ। त्यसमध्ये संघीय सरकारबाट समानीकरणमा प्राप्त २ अर्ब रुपैयाँ भने फिर्ता भएको छ। बाँकी रहेको रकम भने प्रदेश सरकारको संचित कोषमा रहने छ।

संघीय सरकारले आफैँ योजना र कार्यक्रम तर्जुमा गरी समानुकरण राजश्व बाँडफाँटतर्फको साढे ३ अर्ब रकम योजना टुंगो लाग्न नसकेको र केन्द्र तथा प्रदेश सरकारबीच समन्वय हुन नसकेका कारण निकाशा हुन नसकेको कार्यालयले जनाएको छ।

लेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारबाट प्राप्त हुने सशर्त, विशेष र समपुरक अनुदानको हकमा भने खर्च हुन नसकेको लगभग साढे २ करोड रकम संघ सरकारमै फिर्ता जाने भएको हो ।

‘गत आर्थिक वर्षमा खर्च हुन नसकेको ६ अर्ब १५ करोड बचत हुने अनुमान गरिएको भएपनि केन्द्रले मञ्जुरी गरेको साढे ३ अर्बको समानीकरण रकम प्राप्त नहुँदा बचत हुने अनुमान गरिएको १० प्रतिशत पनि घट्न गएको छ,’ सुदूरपश्चिम प्रदेशका लेखा नियन्त्रक वासुदेव जोशीले भने।