☰ open Loading... 27 September 2025|  

पचालझरना पर्यटकीय गन्तव्यमा सूचीकृत
पश्चिम नेपाल   | ८ श्रावण २०८२, बिहीबार १२:२०

नेपालको सबभन्दा अग्लो कालीकोटको पचालझरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ ।

आर्थिक वर्ष ०८२/०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा प्रमुख गन्तव्यमध्ये कालीकोटलाई ६४ औं स्थानमा सूचीकृत गरेको हो । झरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्यूआर कोड बनाएर पर्यटन बोर्डले गाउँपालिकालाई हस्तान्त्रण गरेको पालिकाका सूचना प्रविधि अधिकृत प्रकाशकुमार कठायतले बताए । पालिकाको उपाध्यक्ष अल्किना बमले क्यूआर कोडसहितको फ्रेम बुझेर ल्याउनु भएको छ । उनले भने, ‘यसले आन्तरिक र बाह्य पर्यटकलाई सूचना लिन सहज हुनेछ ।’

कालीकोटको खाँडाचक्र नगरपालिका र पलाता गाउँपालिकाको बीचमा पर्ने पचालझरनामा बग्ने पानी चुलिमालिकाको छेउबाट मूल फुटेर बग्ने गर्छ । कर्णाली करिडोरको लाफागाडबाट ३ घण्टा पैदल र एक घण्टा गाडीमा पुग्न सकिने पचालझरना मनमोहक छ । झरनाको शिरमा डाँफे कालिजलगायतका चराचुरुंगी र घोरल, कस्तुरी, बनेल, हिमाली कालो भालुलगायतका वन्यजन्तु पाइने जनता मावि खार्दुका प्रधानाध्यापक तुलाराज कठायतले बताए । ‘झरना मात्र होइन,’ उनले भने, ‘महत्वपूर्ण वन्यजन्तु पनि पाइने ठाउँ हो । उनले पर्यटकलाई खान, बस्न खार्दु गाउँका ५ घरमा होमस्टे पनि सञ्चालन भएको जानकारी दिए ।

समुद्री सतहबाट ९ सय ७० मिटर उचाइमा रहेको पचालझरना ३८१ मिटर अग्लो छ । त्यसअघि नेपालको सबभन्दा अग्लो भनिँदै आएको तेह्रथुमको ह्यातुङ झरनाको उचाई ३६५ मिटर मात्र छ । एक ठाउँमा थोरै ठोकिएको लम्बाई जोड्दा त पचालझरनाको लम्बाई ४ सय १५ मिटर रहेको प्राविधिक कुलप्रसाद न्यौपानेले बताए ।