वीरेन्द्रनगर नगरपालिका–१२, नेवारेमा आज बिहान एक हृदयविदारक घटना घट्यो। बिहान १० ः४५ बजेको समयमा घरको काम गर्दै गरेका दम्पतीले कल्पनासमेत नगरेको दुर्घटनाले उनीहरूको ज्यान लियो।
५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय आफ्नै घरमा बिद्युतिय मेसिन प्रयोग गरेर घाँस काट्दै थिए। दैनिकजसो जस्तै आज पनि काममा व्यस्त दम्पतीको जीवन एकाएक तब पल्टियो, जब मेसिनमा अचानक करेन्ट प्रवाह भयो। करेन्टले गम्भीर रूपमा घाइते भएका दुवै जनालाई तुरुन्तै उपचारका लागि प्रदेश अस्पताल, कालागाउँ लगियो।
तर दुर्भाग्यवश, अस्पतालमा उपचारकै क्रममा बिहान ११ ः १५ बजे दुबैको मृत्यु भयो।
घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक गगन सिंहको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ। प्रारम्भिक अनुमानमा बिद्युतिय मेसिनको तार सर्ट भएर करेन्ट लागेको हुनसक्ने सुर्खेत प्रहरी प्रवक्ता मोहनजंग बुढथापाले बताए ।
सामान्य गृहस्थ कामकै क्रममा ज्यान गुमाउन पुगेका दम्पतीप्रति स्थानीयवासीले शोक व्यक्त गरेका छन्।