☰ open Loading... 27 September 2025|  

लागू औषधमा १५ वर्ष कैद सजाय भएका फरार अभियुक्त पक्राउ
पश्चिम नेपाल   | १२ श्रावण २०८२, सोमबार १७:५८

लागूऔषध (ब्राउन सुगर) सम्बन्धी गम्भीर मुद्दामा १५ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी लक्ष्मण सापकोटा अन्ततः पक्राउ परेका छन्।

जिल्ला सुर्खेत अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–६, मेन बजार बसोबास गर्दै आएका ४२ वर्षीय सापकोटा सुर्खेत जिल्ला अदालतको फैसला अनुसार लामो समयदेखि फरार रहेका थिए। कर्णाली प्रदेश प्रहरी कार्यालयबाट परिचालित विशेष टोलीले उनलाई वीरेन्द्रनगर नगरपालिका कार्यालय नजिकैबाट विशेष सूचनाका आधारमा पक्राउ गर्न सफल भएको हो।

प्रहरी स्रोतका अनुसार सापकोटा लागूऔषध ब्राउन सुगरको अवैध कारोबारमा संलग्न रहेको ठहर गर्दै अदालतले उनलाई १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो। तर अदालतको फैसलापछि उनी फरार रहँदै आइरहेका थिए। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत सुर्खेतमा बुझाइएको छ।

पछिल्लो समय प्रहरीले प्रदेश र जिल्ला तहमा अपराध नियन्त्रण तथा सामाजिक शान्ति सुरक्षाका क्षेत्रमा उल्लेखनीय सफलता हात पार्दै आएको छ। फरार अभियुक्तको खोजी, लागूऔषध नियन्त्रण, अवैध हतियार बरामद, ट्राफिक सचेतनामूलक कार्यक्रम, बालबालिका तथा महिला हिंसाविरुद्धको सक्रियता जस्ता पहलले प्रहरीको भूमिकाप्रति नागरिक विश्वास बढ्दै गएको देखिन्छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले समाजमा शान्ति सुव्यवस्था कायम गर्न र अपराध नियन्त्रणमा कडाइ गर्न थालेसँगै थुप्रै फरार अपराधीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराउने काम भइरहेको छ। यसले कानूनको शासनलाई थप प्रभावकारी बनाएको छ भने अपराधमा संलग्न व्यक्तिहरू कानुनी दायरामा ल्याउने कार्यलाई तीव्रता दिएको छ।

प्रहरीको यो सक्रियता र प्रतिबद्धता नागरिक सुरक्षा र न्यायिक प्रक्रियाप्रति उत्तरदायी प्रशासनको प्रतीकका रूपमा देखिएको छ। पक्राउ गरिएको अभियुक्तसँग सम्बन्धित थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ।