☰ open Loading... 27 September 2025|  

हुम्ला र मुगु अब सडक सञ्जालमा जोडिए
पश्चिम नेपाल   | १५ श्रावण २०८२, बिहीबार १४:२८

कर्णाली प्रदेशका दुर्गम हिमाली जिल्ला हुम्ला र मुगुलाई सडकमार्फत पहिलो पटक जोड्ने ऐतिहासिक उपलब्धि हासिल भएको छ। हुम्लाको चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोती खोलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएसँगै यी दुई जिल्ला सडक सञ्जालमा आपसमा जोडिएका हुन्।

मंगलबार एक विशेष समारोहबीच कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पुलको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, सरकारी अधिकारी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

हुम्ला र मुगु जिल्लाको भौगोलिक विकटता, दुर्गमता र अत्यन्त कठिन भौगोलिक अवस्थाका कारण दशकौँसम्म यी क्षेत्र सडक सञ्जालबाट टाढा थिए। तर, लोती खोलामा बेलिब्रिज निर्माणसँगै मुगुबाट हुम्ला तथा हुम्लाबाट मुगु पुग्न अब सडक यातायात सहज हुने भएको छ। यसअघि मुख्यतः पैदलयात्रा वा हेलिकप्टर तथा बायुपथमार्फत यात्रा गर्नुपर्ने बाध्यता थियो।

कर्णाली प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको पूर्वाधार विकास निर्देशनालय, र जिल्लास्थित पूर्वाधार विकास कार्यालयको पहलमा बेलिब्रिज निर्माण गरिएको हो। २०८१ साल मंसिर २३ गते ‘कङ्ग्री निर्माण सेवा’सँग सम्झौता गरिएको थियो। कुल लागत ४ करोड ९८ लाख रुपैयाँ रहेको यस बेलिब्रिजको लम्बाइ ४२ मिटर, उचाइ १० मिटर र चौडाइ ३.१५ मिटर रहेको छ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूका अनुसार यो पुलले दुबै जिल्लाका जनताको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउनेछ। विशेष गरी कृषि उत्पादन, बजार पहुँच, स्वास्थ्य सेवा, शिक्षा, पर्यटन र सञ्चार क्षेत्रमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।

हुम्लाको चङ्खेली गाउँपालिका–२ निवासी स्थानीय बासिन्दा टासी लामाले भने, “अब हामीले मुगु बजार जान हेलिकप्टर हेर्ने जरुरी छैन। मोटरसाइकल र जीप चल्न थालेपछि हाम्रो जीवन परिवर्तन हुन्छ।”

यो पुलले दुर्गम क्षेत्रमा सामाजिक समावेशी विकासमा पनि टेवा पुर्‍याउने स्थानीय सरकारको भनाइ छ। कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री शाहीले उद्घाटन कार्यक्रममा भने, “हिमाली जिल्ला जोड्नेतर्फ यो पुल ऐतिहासिक उपलब्धि हो। अब विकासको गति तीव्र बनाउने अवसर सिर्जना भएको छ।”

उनले प्रदेश सरकारका अगामी योजना पनि उद्घोष गर्दै यो मोडेललाई अन्य दुर्गम स्थानहरूमा विस्तार गरिने बताए।