कर्णाली प्रदेश सरकारले पहिलोपटक प्रदेशभित्रका विभिन्न स्थानीय तहमा कार्यरत ३०५ जना कर्मचारीको सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै जारी संशोधित ऐनको अधिकार प्रयोग गर्दै बिहीबार कर्मचारी सरुवा गरेको हो ।
स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन-२०८१ लाई संशोधन गर्न बनेको ऐन जारी भएसँगै प्रदेश सरकारलाई कर्मचारी सरुवा गर्ने बाटो खुलेको थियो ।
सार्वजनिक गरिएको सूचीअनुसार जम्मा ३०५ जना कर्मचारीको सरुवा भएको छ । सरुवा हुनेमा अधिकांश सहायक स्तरका चौथो र पाँचौं तहका कर्मचारीहरू छन् । सूचीमा प्रशासन सहायक, सब–इन्जिनियर, अनमी, सीअहेब, प्राविधिक सहायक (कृषि/शिक्षा), र लेखा सहायक जस्ता पदका कर्मचारीको संख्या ठूलो छ । साथै, प्रशासकीय अधिकृत, इन्जिनियर र शाखा अधिकृत जस्ता अधिकृतस्तरका कर्मचारीहरूलाई पनि सरुवा गरिएको छ ।
सरुवा सूची हेर्दा दुर्गम जिल्लाहरू डोल्पा, हुम्ला, मुगु, कालीकोट, जाजरकोटदेखि सुगम मानिने सुर्खेत र सल्यानसम्मका स्थानीय तहहरूमा कार्यरत कर्मचारीहरूलाई एकापसमा सरुवा गरिएको देखिन्छ ।