कर्णाली प्रदेशमा सत्ता साझेदार दल र सरकारबिचको आन्तरिक किचलो सतहमा आएको छ । विवादका कारण आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको एक महत्त्वपूर्ण कार्यक्रम बिचमै स्थगित हुन पुगेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले समपूरक, विशेष र सशर्त अनुदान सम्बन्धी कार्यविधि निर्माणका लागि प्रदेश सभा सदस्यहरूसँग सुझाव लिन शुक्रबार बिहान वीरेन्द्रनगरस्थित होटल सिद्धार्थमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम सुरु हुनुअघि नै दुई दलबिच लफडा सुरु भएपछि कार्यक्रम नै सञ्चालन हुन नसकेको कार्यक्रममा सहभागी हुन पुगेका माओवादी सांसद विन्दमान विष्टले जानकारी दिए ।
एमालेका एक सांसदका अनुसार सत्ता साझेदार दल नेपाली कांग्रेसकै अवरोधका कारण सुरु हुनै नपाई स्थगित भएको हो । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल एमालेले सरकारले सत्ता साझेदार दलहरूलाई नै सहयोग र सम्मान नगरेको भन्दै कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएको थियो । सरकारले सत्ता साझेदार दललाई नै बेवास्ता गरेपछि यस्ता कार्यक्रम गर्नुको के अर्थ ? भन्दै कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाएका थिए ।
सभामुख, सबै दलका प्रतिनिधि र सांसदहरूको उपस्थितिमा कार्यक्रम गर्न लागिएको थियो । तर, बिहीबार एमाले संसदीय दलको बैठकले सत्तारुढ दल कांग्रेसको भूमिका गठबन्धनको संस्कृति अनुरूप नभएको भन्दै निष्कर्ष निकालेपछि कांग्रेसले रुष्ट बनेको हो ।
कांग्रेसका अर्का एक सांसदले पनि आफू कार्यक्रम स्थलमा पुग्ने वेला विवाद भएको र अहिले कोठामा फर्किसकेको बताए ।
