☰ open Loading... 9 October 2025|  

कर्णालीमा सत्ता साझेदारबीच सहमति: रिक्त पदमा तत्काल नियुक्ति गरिने
पश्चिम नेपाल   | २४ श्रावण २०८२, शनिबार २१:१९

सत्ता साझेदार प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विभिन्न निकायमा रिक्त नियुक्तिहरू तत्काल गर्ने सहमति भएको छ।

प्रदेशस्तरीय दुई दलीय संयन्त्रको शनिबार बसेको बैठकमा सरकार सञ्चालनमा आपसी समझदारी कायम गर्दै सरसल्लाह र सुझावका माध्यमबाट अघि बढ्ने पनि सहमति भएको हो।

संयन्त्रका संयोजक नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीका अनुसार सरकारले गर्नुपर्ने विभिन्न निकायका नियुक्तिहरू यथाशक्य चाँडो गर्ने सहमति भएको बताए।

‘कर्णाली प्रदेश खेलकुद विकास परिषद्लगायत विभिन्न निकायमा हुने नियुक्तिहरू दुई दलबीचको सहमतिका आधारमा यथाशक्य चाँडो गर्ने दुई दलीय संयन्त्रमा सहमति भएको छ,’ सभापति शाहीले भने, ‘यस्तै मन्त्रालयहरुका कार्यसम्पादन र प्रभावकारी कार्यसम्पादनका विषयमा पनि बैठकमा छलफल र निर्णय भएको छ।’

बैठकले दुई दलबीच सरकार बनेको एक वर्षको अवधिमा भए/गरेका कामहरूको पनि समीक्षा भएको थियो। ‘एक वर्षको अवधिमा दुई दल सम्मिलित सरकारले गरेका काम/कारबाहीको बारेमा छलफल भयो,’ उनले भने, ‘आगामी दिनहरूमा सरकारलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्दै जनअपेक्षा अनुसार काम गर्नका लागि सत्ता साझेदार दुई दलका नेता र दुई दलीय संयन्त्र बिच आपसी समझदारी सरकार सञ्चालन गर्ने सहमति भयो।’

बैठकमा एमाले संसदीय दलमा भएको छलफलको विषय, शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको समपूरक, विशेष र सशर्त अनुदान सम्बन्धी कार्यविधि निर्माणका लागि भएको बैठकलगायतका विषयमा पनि छलफल भएको थियो।

पूर्व मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले एमाले संसदीय दलको बैठकबारे सञ्चार माध्यममा आएका विषयका बारेमा एमालेको धारणा मागेका थिए।

एमाले संसदीय दलको बैठकपछि प्रमुख सचेतक टेकराज पछाईले संयुक्त सरकार सञ्चालनको संस्कृति अनुरूप कांग्रेसको भूमिका नभएको निष्कर्ष बैठकले निकालेको सार्वजनिक गरेका थिए।

दुई दलीय संयन्त्रको बैठकमा भने मुख्यमन्त्री यामलाल कँडेलले त्यो दलको आधिकारिक निर्णय नभएर बैठकमा कुरा उठेको बताएका थिए।