जुम्लाको तातोपानी गाउँपालिका-३, खरखडा गाउँमा बुधबार साँझ आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन। तर घरभित्रका सम्पूर्ण सरसामान जलेर लाखौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीय खेम बुढाको तीनतले, आठकोठे जस्तापाताले छाएको कच्ची घरमा साँझ करिब साढे ६ बजेतिर आगलागी भएको हो। परिवारका सदस्यले घरको तेस्रो तलामा नास्ता पकाउने क्रममा अचानक आगो सल्किएको बताएका छन्।
आगो लागेलगत्तै स्थानीय र प्रहरी मिलेर निभाउने प्रयास गरे पनि काठ र माटोले बनेको घर भएकाले आगो छिट्टै फैलिएको थियो। आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ।
आगलागीबाट बुढा परिवारको विचल्ली भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र क्षतिको यकिन विवरण संकलन गर्ने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।