☰ open Loading... 27 September 2025|  

राजश्व छली ल्याइएको बिना बिल–बिजकका सामानसहित ई–भि गाडी नियन्त्रणमा
पश्चिम नेपाल   | ३० श्रावण २०८२, शुक्रबार ०७:३९

सुर्खेत – राजश्व छली गरी ल्याइएको विभिन्न खाद्यान्न तथा पेयपदार्थसहित एक विद्युतिय गाडी सुर्खेतमा प्रहरीले नियन्त्रणमा लिएको छ।

प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले वीरेन्द्रनगर नगरपालिका–११ शुब्बाकुना सडक खण्डमा चेकजाँच गर्ने क्रममा बा.प्र.०३–००१ ज.०६७६ नं.को ई–भि गाडीमा बिना बिल–बिजकका सामान बरामद गरेको हो।

जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बस्ने बालकृष्ण खड्काले चलाइरहेको उक्त गाडीमा सवारी नबोकी मात्र सामान लोड गरिएको थियो। बरामद वस्तुमा पास्ता २० केजीका ६ बोरा, पानीपुरी बनाउने प्रयोजनका लागि ३० केजीका १९ बोरा चिनी, चोसो पेयपदार्थ (डिउ) ५० थान, मिक्स जुस २४ थान, काजु २० प्याकेट लगायत रहेका छन्।

यी सबै सामानसहित गाडीको अन्दाजी मूल्य ४१ लाख १४ हजार ८ सय ८० रुपैयाँ हुने प्रहरीको अनुमान छ। नियन्त्रणमा लिइएका चालक खड्का, ई–भि गाडी तथा बरामद सामानलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।