☰ open Loading... 27 September 2025|  

नियात्रा : वडिमालिका दर्शन – भाग १
लव विक्रम शाह   | ३० श्रावण २०८२, शुक्रबार २०:५०

नेपालको सुदूरपश्चिम प्रदेश, प्राकृतिक सुन्दरताको अपार भण्डार मात्र होइन, यहाँका धार्मिक र सांस्कृतिक स्थलहरू पनि अद्वितीय छन्। तीमध्ये, वाजुरा जिल्लामा अवस्थित वडिमालिका शक्तिपीठ एक यस्तो तीर्थ हो, जसको नाम लिँदा मात्र भक्तिभाव, आस्था र रोमाञ्च एकैसाथ मनमा उम्लिन्छ।

वडिमालिकाको महत्त्व र किंवदन्ती

समुद्री सतहबाट करिब ४,२०० मिटरको उचाइमा, त्रिवेणी नगरपालिका–१ मा अवस्थित यो शक्तिपीठ देवी दुर्गाको अवतारको रूपमा पूजिन्छ। किंवदन्ती अनुसार, भगवान शिव पृथ्वी भ्रमणमा रहँदा सतिदेवीको वायाँ कुुम यही स्थानमा पतन भयो। त्यसै वायाँ कुुमबाट वडिमालिका माताको उत्पत्ति भएको जनविश्वास छ।

यहाँका स्थानीय बासिन्दा मात्र नभई टाढाटाढाबाट आएका भक्तजनले पनि यस देवीलाई मनोकामना पूरा गर्ने शक्तिशाली माताको रूपमा मान्छन्। वर्षको विशेष अवसर जनैपूर्णिमाको अघिल्लो दिन सरकारी विधिपूर्वक पूजा हुन्छ, जसमा बाजुरा, अछाम, कैलाली, डोटी, बझाङ, कालिकोट, दैलेख, जुम्ला, सुर्खेत लगायत नेपालका विभिन्न जिल्ला तथा भारतबाट पनि भक्तजन आउँछन्। यस वर्ष मात्र करिब ५० हजार तिर्थालु यहाँको दर्शनमा पुगेको अनुमान छ।

वडिमालिका पुग्ने बाटाहरू

यो पवित्र स्थान पुग्नका लागि विभिन्न बाटाहरू छन्—

  1. कैलाली → वाजुरा → त्रिवेणी पाटन
  2. वाजुरा → मार्तडी → उत्तर मार्ग हुँदै वडिमालिका
  3. सुर्खेत → कालिकोट → मुम्रा → ठाडो उकालो पारेर त्रिवेणी पाटन
  4. साथै, कालिकोटको रास्कोट → माथिल्लो बाटो → पाटन पुग्ने बाटो पनि प्रचलित छ।

मार्तडी बाहेकका सबै बाटाहरू अन्ततः त्रिवेणी पाटनमा आएर मिसिन्छन्।
यस पटक हाम्रो टोलीले रास्कोट मार्ग रोज्यो— यस बाटोमा प्राकृतिक सौन्दर्य, गाउँ-बस्तीको संस्कार, र यात्राको चुनौती दुवै अनुभव गर्न पाइन्छ।

यात्रा प्रारम्भ – २०८२ साउन १८ गते

धार्मिक यात्रामा ‘जान्छु’ भनेपछि पुग्नै पर्छ भन्ने विश्वास हुन्छ। अन्य तीर्थहरूमा पनि यो मान्यता हुन्छ, तर वडिमालिकासँग जोडिएको आस्था केही फरक र गहिरो छ। केही दिनको छलफलपछि अन्ततः हाम्रो टोली यसरी तय भयो—

भाई विरेन्द्र माझी

उनकी जीवनसाथी कौशिला

दिदी लक्ष्मी

म स्वयं र मेरी श्रीमती अम्बिका शाह

५ जनाको टिम, तर हाम्रो मनमा उत्साह सयौंको बराबर थियो।
ट्रेकिङको योजना भएकाले आवश्यक कपडा, पानी, खानेकुरा, टर्च, वर्षातको पोसाक, स्वास्थ्य सामग्री लगायत सबै सामानको तयारी काठमाडौंमै गर्यौं।

छोराहरूलाई घरमा अर्हाईसिकाई गरेर बिहानै श्री एयरको फ्लाइटमार्फत सुर्खेत जाने योजना बनायौं। बिहान ७:३० बजेको उडान थियो, तर उडान समयमै भएन। ‘मौसमको कारण ढिलो’ भन्ने जानकारी दिइयो, तर पछि थाहा भयो— जहाजको चाप धेरै भएकाले तालिका मिलाउन उडान सारिएको रहेछ।

भाई विरेन्द्रसँग कैयौं पटक फोनमा कुरा भयो— उनी सुर्खेतमा हामीलाई कुर्दै थिए। सुर्खेत पुगेर त्यही दिन रास्कोटसम्म यात्रा गर्नुपर्ने भएकाले समयमै फ्लाइट हुनु आवश्यक थियो। तर, यथार्थमा, ११:३० बजे मात्र हामी सुर्खेत अवतरण गर्न सफल भयौं।

सुर्खेतदेखि रास्कोटसम्मको बाटो

१२:१५ बजेतिर सुर्खेतबाट गाडीमा यात्रा सुरु भयो। हाम्रो टोली गुरासे हुँदै अघि बढ्यो। गाडीको झ्यालबाट देखिने हरियाली, पहाडी बस्ती र धुवाँ-धुवाँ बादल— सबैकुराले यात्रा रोमाञ्चक बनाइरहेको थियो।

गाईवान्ना, डवलगैरा, घोडावास, तालपोखरी हुँदै रिठ्ठा पुग्दा हल्का वर्षा सुरु भइसकेको थियो।
तल्लो डुङ्गेश्वर पार गर्दै अशारेतर्फ बढ्दा वर्षा बाक्लिँदै गयो। बाटो पहाडको भित्तामा टाँसिएर गएको थियो, र माथिबाट कहिल्यै ढुंगा खस्ला भन्ने डर थियो। एक अवस्थामा ढुंगा खस्दै गाडीको छतमा ठोक्कियो— भाग्यवश, कुनै क्षति भएन।
अलिकति अघि बढ्दा बाटो काट्दै सर्प देखा पर्‍यो। हामीले ‘दोष कट्यो’ भन्दै राहतको सास फेर्यौं।

खाजा र विश्राम

पहिलेको योजना अनुसार टुनिवगरमा खाजा खाने सोच थियो, तर समय र मौसमको कारण त्यसलाई परिवर्तन गरियो। अन्ततः राकम पुगेर मात्र चिया, समोसा, नमकीन खाँदै केही समय विश्राम गर्यौं।
५ बजेतिर पुनः यात्रा सुरु भयो— दहिखोला, गोगनेखोला हुँदै गाडी मान्म नगई खुलालु तर्फ ओरालो झर्यो।

सान्निघाटमा नयाँ साथीहरू

कर्णाली करिडोर हुँदै सान्निघाट पुग्दा हाम्रो टोलीमा थप ३ जना साथी— रमित, मदन, र एम.भी. गिरी— जोडिए। उनीहरूको उत्साह र हाँसोले यात्रा अझै रोचक बनायो।

 

रातको रास्कोट

पुलिस चेकपोस्ट पार गर्दै गाडी रास्कोटको उकालो चढ्न थाल्यो। पहाडको बीचमा, साँघुरा मोड पार गर्दै गाडी बिस्तारै माथि पुग्दै थियो।
रातको करिब ८:३० बजे आर.सी. बजार, रास्कोट पुग्यौं।
त्यहाँको एक साधारण तर आतिथ्यपूर्ण होटलमा बास बस्यौं। स्वादिलो खाना, यात्राको थकाइ, र भोलिको चुनौतीपूर्ण बाटोको सोच— यी सबैले हामीलाई छिट्टै निद्रामा डुबाए।

(क्रमशः – भाग २ मा रास्कोटबाट त्रिवेणी पाटनसम्मको कठिन यात्रा…)