पश्चिम नेपाल   | १ भाद्र २०८२, आईतवार ०६:४३
  
दैलेख ः नेपाल कम्युनिस्ट पार्टी (एमाले) दैलेखका जिल्ला कमिटी सदस्यहरूले पार्टीको नीति कार्यकर्तामुखी आवश्यक रहेको बताएका छन् । ललितपुरको गोदावरीमा हुने पार्टीको दोस्रो विधान महाधिवेशनका लागि सुझाव सङ्कलनका गर्न सम्पन्न (एमाले) जिल्ला कमिटीको बैठकमा सहभागी सदस्यहरूले पार्टीमा कार्यकर्तामा आधारित नीति आवश्यक रहेको बिचार व्यक्त गरेका हुन् । विधान संशोधनका लागि सञ्चालित बैठकमा २८ जना जिल्ला कमिटीका सदस्यहरूले विभिन्न सुझाव राख्नुभएको (एमाले) दैलेखका प्रचार विभाग प्रमुख दीपेन्द्र ओलीले बताए । सङ्कलित सुझावलाई निर्णय गरेर पार्टी केन्द्रीय कमिटीमा पठाइएको छ ।पार्टी केन्द्रीय कमिटीले छलफलका लागि पठाएको मस्यौदामा पालिका स्तरमा छलफल गरी पार्टी जिल्लालाई सुझाव प्रदान गरेका थिए । विधान संशोधनका लागि प्रदान गरिएका सुझावहरू पार्टी जीवन र सङ्गठन सञ्चालनका लागि महत्त्वपूर्ण रहेका प्रचार विभाग प्रमुख ओलीको भनाई छ । ‘एमाले जनतामा आधारित पार्टी हो । जिल्लाबाट केन्द्रमा जाने सुझावले पार्टी जीवन र सङ्गठन सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । सामूहिक निर्णयको प्रयत्न स्वरूप राम्रो काम भएको छ ।,’ ओलीले भने । बैठकमा पार्टी केन्द्र र प्रदेशले जारी गरेका अन्तर पार्टी निर्देशन माथि व्यापक छलफल गरिएको थियो ।
बैठकले बाँकी जनवर्गीय सङ्गठनका अधिवेशन असोजभित्र गरिसक्ने निर्णय गरेको छ । (एमाले) दैलेखमा सङ्गठित सदस्यको सङ्ख्या वृद्धि भएको जनाइएको छ । २०८२ सालसम्मको नवीकरण विवरण अनुसार जिल्लामा दश हजार २ सय ५१ सङ्गठित सदस्य छन् ।
