☰ open Loading... 27 September 2025|  

कर्णाली प्रदेश सरकारद्वारा ८३ कर्मचारीको सरुवा
पश्चिम नेपाल   | १ भाद्र २०८२, आईतवार १४:१२

कर्णाली प्रदेश सरकारले कर्मचारीहरूको सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार विभिन्न मन्त्रालय, निर्देशनालय तथा जिल्लास्थित कार्यालयहरूमा कार्यरत ८३ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाएको हो ।

प्रदेशको प्रशासनिक कामकारबाहीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले यो सरुवा गरिएको बताइएको छ ।

सरुवा हुने कर्मचारीहरूमा प्रदेशका विभिन्न निकायमा कार्यरत वरिष्ठ शाखा अधिकृत (आठौँ तह) देखि खरिदार (सहायकस्तर चौथो) तहसम्मका कर्मचारीहरू रहेका छन् ।

सूचीअनुसार, वरिष्ठ शाखा अधिकृत राजेन्द्र पौडेललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ भने पूर्ण प्रसाद उपाध्यायलाई कृषि मन्त्रालयबाट स्वास्थ्य आपूर्ति केन्द्रमा ल्याइएको छ ।

यो सरुवाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलगायत प्रदेशका महत्त्वपूर्ण निकायहरू प्रभावित भएका छन् ।

कर्मचारीहरूलाई सुर्खेतस्थित मन्त्रालय तथा निकायबाट हुम्ला, मुगु, कालिकोट, जाजरकोट, दैलेख जस्ता जिल्लाका कार्यालयहरूमा र जिल्लाबाट प्रदेश राजधानीमा सरुवा गरिएको छ ।

अधिकांश कर्मचारीहरूको सरुवा गरिएको छ भने केहीलाई कामकाजका लागि खटाइएको छ । मुख्यमन्त्री कार्यालयको निर्णयअनुसार गरिएको यो सरुवा र कामकाजको खटनपटनले प्रदेशको सेवा प्रवाह र विकास निर्माणका काममा गतिशीलता ल्याउने अपेक्षा गरिएको छ ।