☰ open Loading... 27 September 2025|  

लैंगिक हिंसा रोकथाम गर्न अभियान चलाइँदै
यामराज बिष्ट   | ५ भाद्र २०८२, बिहीबार ०६:२२

 

दैलेख । दैलेखमा महिला माथि हुने हिंसा रोकथाम गर्न लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले भदौ महिनाभर लैंगिक हिंसा रोकथाम गर्न अभियान सञ्चालन गर्न लागेको हो ।
जिल्ला प्रहरी कार्यालयले दैलेख सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पछिल्लो समयमा श्रृंखलावद्ध रुपमा घटनाहरु बढ्दै गएकाले लैङ्गिक हिंसा रोकथाम गर्न यो महिना अवधिरभर अभियान सञ्चालन गरिने दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर बरालले जानकारी बताए ।उनले यस्ता खाले अभियानले लैंगिक हिंसा रोकथाम गर्नमा सहयोग पुग्ने जानकारी दिए ।
उनले महिलाहरुमाथि हुने भेदभाव हुन नदिनका लागि सबै लैंगिक हिंसा रोकथाम गर्न सबैले सहयोग गर्नुपर्ने बताए । बलात्कार, यौन दुव्र्यवहार, बालविवाह, छाउपडी प्रथा विरुद्ध समुदाय स्तरसम्म दैलेख प्रहरीले सञ्चालन गर्न लागेको लैंगिक हिंसा रोकथाम कार्यक्रमहरु प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको नायब उपरीक्षक (डिएसपी) बरालले बताए ।

यस्तै नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले प्रहरीले सञ्चालन गर्ने सचेतना अभियानमा नागरिक समाजले सहयोग अझैं बढाउनुपर्ने बताए । उनले अपराध रोकथामका लागी सबै संग सहकार्य बढाउन आवश्यक रहेको बताए ।
आठबीस नगरपालिकाकीका नगरपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बन्दना लम्सालले छिमेकी जिल्ला अछामको प्रभावले आठबीसमा छाउपडी प्रथा हट्न नसकेको समस्या दर्शाइन् । उनले अझै पनि महिलाहरु धेरै हिंसा हुने गरेको भन्दै कुनै पनि हिंसाविरुद्धमा आवाज बुलन्द गर्नु पर्नेमा जोड दिइन् ।
जिल्लाकै विकट मानिने ठाँटीकाँध गाँउपालिकामा बालविवाह रोकथाम प्रयासहरु सफल हुन नसकेको ठाँटीकाँध गाउँपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गीता बिकले स्वीकार गरिन् ।
यस्तै डुंगेश्वर गाउँपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तेजु रेग्मीले महिलामाथि हुने हिंसा विरुद्ध जनचेतना जगाउने र समस्याहरूको पहिचान गरी तिनको समाधानका लागि सहकार्यको आवश्यक रहेको बताइन् ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष यज्ञराज थापाले हिंसा आफैमा अपराध भएको कारण यसको निर्मुलीकरण गर्न आवश्यक रहेको बताए । उनले लैगिंक हिसाले गर्दा समाजमा नकारात्मक कुरा बढ्दै गएको कारण यसलाई न्यूनिकरणका लागि सवैले लाग्नुपर्ने बताए ।
कार्यक्रममा नागरिक समाज संस्था र दैलेखका ११ वटै पालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।