पहिरोले भवन भत्किएपछि बन्द भएको कालिकोटको नरहरिनाथ-६ माल्कोट रातीमाटास्थित शान्ति मावि अझै खुल्न सकेको छैन । गत सोमबार बेलुकी विद्यालय माथिबाट झरेको पहिरोले दुई कोठे पक्की भवन भत्किनुका साथै खानेपानी, फर्निचरलगायतका संरचनामा क्षति पुगेपछि मंगलबारदेखि विद्यालय बन्द छ ।
बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म पढाइ हुने शान्ति माविको पछाडिको भागबाट खसेको पहिरोले नयाँ पक्की भवनमा क्षति गरेको र पहिरो झरेको ठाउबाट ढुंगा आइरहेकाले विद्यालय बन्द गरिएको प्रधानाध्यापक हरिषचन्द्र बटालाले बताए । ‘पहिरो आएको ठाउँबाट बेलाबेलामा ढुंगा पनि झर्ने गरेका छन्,’ उनले भने, ‘बालबालिकालाई चोटपटक लाग्न सक्छ भनेर विद्यालय बन्द गरेका हौं ।’ उनले विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर विद्यालय ५ दिनका लागि बन्द गर्ने निर्णय गरिएको सुनाए ।
गाउँपालिकाको ३८ लाख लागतमा निर्माण भएको पक्की भवन क्षतिग्रस्त बनाएपछि विद्यार्थीलाई बस्ने ठाउँको अभाव भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलवीर बटालाले बताए । विद्यालयमा ४ सय विद्यार्थी छन् ।