कर्णाली प्रदेश सरकारको तुईन विस्थापन गर्ने नीति अनुरूप भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले कर्णाली प्रदेशमा सन्चालनमा रहेका तुईनहरूको बारेमा जानकारी माग गर्दै मिति जेठ २६ गते सूचना प्रकाशन गरेको थियो ।
कर्णालीलाई तुइनमुक्त बनाउने भन्दै जारी भएको सूचना अनुसार कर्णालीमा जम्मा ५५ ओटा तुईन भेटिएका छन् ।
मन्त्रालयका अनुसार हुम्ला, जाजरकोट कालिकोट, सल्यान, दैलेख, मुगु, डोल्पा र सुर्खेत जिल्लाबाट क्रमशः १५, १२, १२, १, २, २, ३ र ८ गरी जम्मा ५५ वटा तुईन रहेका छन् ।
मन्त्रालयबाट मिति साउन पाँच गते स्थलगत अध्ययन गरी तुईन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्न माग भएका स्थानहरूको भेरीफिकेसन गरी मन्त्रालयमा विवरण पठाउन सम्बन्धित पूर्वाधार विकास कार्यालयहरूमा पत्राचार गरिएको थियो ।
पूर्वाधार विकास कार्यालयहरुबाट प्राप्त प्रतिवेदन अनुसार विस्थापनयोग्य तुईन जम्मा पाँचवटा मात्र भएको एकीन भई सोही अनुसार सम्बन्धित जिल्लामा बजेट व्यवस्थापन गर्न लागिएको बताइएको छ ।
तुईन विस्थापन गरी झोलुङ्गे पुल बनाउन लागिएका तुईनहरूमा हुम्ला जिल्लाका कर्णाली नदी माथिको तुईन (रिपघाट तुईन) र छाल नदी तुईन गरी २ वटा, जाजरकोट जिल्लाका स्याकुतडा–बालतरी तुईन र चोर्तेनी–रातेरा तुईन गरी दुईवटा र सल्यान जिल्लाको भेरी नदी तुईन १ गरी कूलजम्मा ५ वटा रहेका छन् ।
ती तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्नका लागि मन्त्रालयमा उक्त शीर्षकमा एकमुष्ट रूपमा विनियोजन भएको एक करोड पचासलाख रुपैंया बाँडफाट गरी सम्बन्धित जिल्लास्थित कार्यालयमा पठाउन लागेको मन्त्रालयका सिडिई रमेश सुवेदीले बताए ।
पहिलोप्रेसबाट