☰ open Loading... 27 September 2025|  

आठबिस नगरपालिका ‘लिजा’ मूल्याङ्कनमा कर्णालीमै अन्तिम
गणेश बहादुर शाही, राकमकर्णाली दैलेख   | ९ भाद्र २०८२, सोमबार १५:५२

दैलेख — दैलेखको आठबिस नगरपालिकाले स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा कर्णाली प्रदेशकै लजास्पद परिणाम निकालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको नतिजामा आठबिस नगरपालिकाले ४८.७५ अंक प्राप्त गर्दै प्रदेशभर नै अन्तिम स्थानमा पर्न पुगेको हो।

जिल्लामा भने नारायण नगरपालिकाले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ। नारायणले ८२.७५ अंक प्राप्त गरी पहिलो स्थानमा रहँदा, दुल्लु नगरपालिकाले ८२.७५ अंकसहित दोस्रो र महाबु गाउँपालिकाले ८१.५० अंकसहित तेस्रो स्थान हासिल गरेका छन्।

यस्तै, डुुवेश्वर गाउँपालिकाले ८१ अंक, भगवतीमाईले ८०.७५, गुराँसले ८०.५०, नौमुलेले ७८.७५, चामुण्डाबिन्द्रासैनी नगरपालिकाले ६४.५०, भैरवीले ६१ र ठाटीकाँध गाउँपालिकाले ५९.२५ अंक प्राप्त गरेका छन्।

नतिजा सार्वजनिक भएपछि आठबिस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार माझीले तत्काल सबै शाखाका कर्मचारीलाई भेला गरी अंक कम आउनुको कारण समीक्षा गरेका छन्। उनले अपूर्ण डकुमेन्ट तथा विवरण समयमै लिजा प्रणालीमा नहालिएकै कारण परिणाम कमजोर आएको बताए।

“बजेट पारित गर्ने प्रक्रिया, आयव्यय व्यवस्थापन, सुशासन, न्यायिक कार्य, सहकार्य र समन्वयका महत्वपूर्ण विवरण नपुगेका कारण अंक घटेको हो,” माझीले स्पष्ट पारे। उनले आगामी मूल्याङ्कनमा आठबिस नगरपालिकाले सुधार गर्दै जिल्लामै उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे।