सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुस्थित इलाका प्रहरी कार्यालय परिसरमा बेलायत सरकारको आर्थिक सहयोगमा निर्मित महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन भएको छ । प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा सुविधासम्पन्न उद्घाटन भएको हो ।
नवनिर्मित भवनमा महिला, बालबालिका र जेष्ठ नागरिक हेर्ने प्रमुखको कार्यालय प्रमुखको कार्यालयदेखि आवाजसम्म रहेको छ । त्यस्तै बैठक कक्ष, परामर्श कक्ष, पीडित सहायता कक्ष, सोधपुछ कक्ष, बालबालिका कक्ष, भान्छा, महिला आवास कक्ष तथा महिला प्रहरीका लागि छुट्टै आवाससहितका सुविधा उपलब्ध छन् । साँगुरो कोठाबाट सुविधासम्पन्न भवन निर्माण भएसंगै प्रहरीहरुलाई सेवा दिन सहज हुने जनाईएको छ । १ करोड ५७ लाख ५८ हजार ३ सय ८० रुपैँया लागतमा निर्माण भएको हो । सम्झौता भएको १ वर्षमै रोयल कन्ट्रक्सनले निर्माण सम्पन्न गरेको थियो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्य, प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक माधब प्रसाद श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिर राज शाहीलगायत सुरक्षा निकायका सुर्खेतका प्रमुखहरु, सरोकारवाला निकायका प्रतिनिधि, भेरीगंगा नगरपालिकाका मेयर यज्ञ प्रसाद ढकाल लगायत जनप्रतिनिधिहरु, स्थानीयहरुको सहभागिता थियो ।
भवन सञ्चालनमा आएसँगै महिला, बालबालिका र जेष्ठ नागरिकलाई सेवा दिन सहज हुने इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक पदम बहादुर खत्रीले बताए ।