☰ open Loading... 27 September 2025|  

जडीबुटी उल्लेख गरेर वनले जाँचपास गरेको कन्टेनरमा दैलेखमा करोडौंको विद्युतीय चुरोट बरामद
पश्चिम नेपाल   | १० भाद्र २०८२, मंगलवार १५:२६

हुम्लामा संकलित जडीबुटी लोड भएको उल्लेख गरी पठाइएको कन्टेनरमा करिब ४० हजार थान विद्युतीय चुरोट भेप फेला परेको छ । डिभिजन वन कार्यालय सिमकोट हुम्लाले रसिद काटेर जडीबुटी उल्लेख गरी पठाएको कन्टेनरबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल एपीएफ टोलीले कन्टेनर नियन्त्रणमा लिएको हो । कन्टेनरमा ईएलएफबीएआर ब्रान्डका करिब ४० हजार थान भेप बरामद भएको छ ।

डिभिजन वन कार्यालय हुम्लाका निमित्त डिभिजन वन अधिकृत लोकजंग शाहीले नेपालगन्जसम्मका लागि जाँचपास गरेर पठाएको कन्टेनर सशस्त्र प्रहरीले दैलेखबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको उक्त कन्टेनरलाई नेपालगन्ज लगेर राजस्व र भन्सारसहितको टोलीले खोलेर हेर्दा चीनबाट तस्करी गरी भित्रिएको ३९ हजार ९ सय थान भेप र २ हजार ४ सय ६ केजी सेतक चिनी फेला परेको हो । बरामद भेप करिब १० करोड रुपैयाँ बराबरको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाका नाममा ५ हजार केजी सेतक चिनी उल्लेख गरी वन कार्यालय हुम्लाले नेपालगन्जसम्म पुग्ने गरी कन्टेनर जाँचपास गरेको थियो । प्रतिकेजी २५ रुपैयाँ उल्लेख गरी एक लाख २५ हजार राजस्वको रसिद काटेर कन्टेनर जाँचपास गरिएको थियो । तर राजस्व र सशस्त्र प्रहरीले चीनको ताक्लाकोट हुँदै हिल्सा नाकाबाट भेप तस्करी गरिएको आशंकामा सुरुदेखि नै कन्टेनर निगरानी गरेको थियो । राजस्व र सशस्त्रको टोलीले कन्टेनर पछ्याउँदै दैलेखबाट नियन्त्रणमा लिएका थिए ।

जडीबुटी व्यवसायको आवरणमा गैरकानुनी धन्दा चलाएका लामाले कैलाश–ईश्वर जडीबुटी खरिद बिक्री संस्थाका नाममा भदौ ३ मा जाँचपासका लागि वनमा निवेदन दिएका थिए । त्यसको दुई दिन पछाडि डिभिजन वन कार्यालय सिमकोट हुम्लाका प्रमुख निमित्त डिभिजनल वन अधिकृत लोकजंग शाहीले जाँचपास गराएका थिए ।

‘संकलन इजाजतबमोजिम शर्मथान राष्ट्रिय वनबाट संकलन गरी नाम्खा गाउँपालिका–१ हुम्लामा घाटगद्दी गरिराखेको तपसिल बमोजिमको वन पैदावार नियमानुसार निकासीका लागि इजाजत मागका लागि भदौ ३ गते यस कार्यालयमा पेस भएको निवेदनअनुसार सम्बद्ध सरोकारवालको रोहबरमा वन पैदावार नापतौलका लागि सबडिभिजन वन कार्यालयका कर्मचारी हटाई पठाएकोमा निजहरू घाटगद्दी स्थलमा गई संकलन इजाजतअनुसारको वन पैदावार नापतौल गरी संकलन लगतबमोजिम सबडिभिजन वन कार्यालय हुम्लाबाट वन पैदावार निकासीका लागि प्रतिवेदन साथ आवश्यक कागजातसहितको फाइल पेस हुन आएकाले २१ दिनभित्र घाटगद्दी स्थानबाट सल्लीसल्ला, बाजुरा–कालिकोट–दैलेख–अछाम–कैलाली–बर्दिया–कोहलपुर हुँदै नेपालगन्जसम्म लैजानका लागि यो छुट पुर्जी दिइएको छ’ भनी वन अधिकृत शाहीले कन्टेनर जाँचपास गराई छोडेका थिए ।

उनले ‘नियमअनुसार सबडिभिजन कार्यालय हुम्लामा कार्यरत कर्मचारीको रोहबरमा लोड गराई एचयूएम–१ नम्बरको सिल लगाई दरपीठ गरी बाटोमा पर्ने वन चेक पोस्टहरूमा अनिवार्य चेकजाँच तथा दरपीठ गराई लैजानुहुन जानकारी गराइन्छ’ भनी कन्टेनर वाहकलाई पास उपलब्ध गराएका थिए ।

तस्करीको भेप बरामद भएको विषयमा थप अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दियो । जडीबुटी भनी उल्लेख गरेको कन्टेनरमा वनकै कर्मचारीको मिलेमतोमा तस्करीका भेप पठाइएको हुन सक्ने देखिएकाले उनीहरूमाथि पनि अनुसन्धान जारी रहेको राजस्व अनुसन्धान स्रोतले बतायो ।

फरेस्टर सन्तोष खत्री र वनकै अर्का कर्मचारी कृष्णबहादुर हमालले नेपालगन्जसम्म जानका लागि जाँचपासको पत्र तयार पारेका थिए ।

यसअघि पनि चीनबाट तस्करी हुँदै भित्र्याइएको भेप मुस्ताङको लोमान्थाङ र ललितपुरको इमाडोलबाट बरामद भएको थियो ।

इकान्तिपुरबाट