☰ open Loading... 27 September 2025|  

आज देशभर बदली, केही ठाउँमा भारी वर्षा
पश्चिम नेपाल   | ११ भाद्र २०८२, बुधबार ०८:३२

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने र कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने महाशाखाले प्रक्षेपण गरेको छ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला र साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।