☰ open Loading... 27 September 2025|  

हिल्सा–सिमकोट सडक दुई लेनको बन्ने
पश्चिम नेपाल   | १२ भाद्र २०८२, बिहीबार १४:५४

चीनसँग महत्त्वपूर्ण नाका मानिएको तिब्बतदेखि हुम्ला सदरमुकाम सिमकोटसम्मको सडक चीन सरकारले दुई लेनमा विस्तार गर्ने भएको छ । यसका लागि असार पहिलो हप्तामा १० जनाको चिनियाँ प्राविधिक टोली हुम्ला आएर सडकको सम्भाव्यता र नक्सांकनका लागि आवश्यक अध्ययन गरिसकेको छ । टोलीले हिल्सादेखि सिमकोटसम्मको करिब ९५ किलोमिटर क्षेत्रमा एक हप्ता लगाएर विस्तृत अध्ययन गरेको थियो ।

टोलीका अनुसार पहिलो वर्ष नक्सांकन र प्राविधिक तयारी हुने, दोस्रो वर्ष निर्माण कार्य थालिने र तेस्रो वर्षमा सडक पूर्णरूपमा कालोपत्रे गरी सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अहिले चीनतर्फ बजेट निर्माण, स्वीकृत र अन्य प्रशासनिक प्रक्रिया अघि बढिरहेको कर्णाली करिडोर (उत्तर खण्ड हिल्सा) सिमकोट हुम्लाका प्रमुख भेलबहादुर नेपालीले जानकारी दिए ।

सडक निर्माण गर्ने तयारी थालेसँगै सीमावर्ती क्षेत्र मात्र नभई कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लागि ठूलो आशा पलाएको छ । यो सडक तयार भएपछि सिमकोट मात्र नभई सम्पूर्ण हुम्ला जिल्लाका लागि यातायातको सुविधामा ऐतिहासिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । कर्णाली करिडोरअन्तर्गत हाल ट्रयाक खोल्ने काम सकिएको छ । तर सडक अझै पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन । सडक निर्माण सम्पन्न भएपछि हिल्सादेखि सिमकोटसम्मको यात्रा सहज र द्रुत हुने छ । यसले स्थानीयलाई शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार–व्यवसाय र सामाजिक सम्पर्कमा नयाँ ढोका खोल्ने विश्वास गरिएको छ ।

व्यापारिक दृष्टिकोणले हेर्दा यो सडक नेपाल–चीनबीचको प्रमुख नाकालाई सिमकोटसँग सीधा जोड्ने माध्यम हुनेछ । हिल्साबाट विभिन्न उपभोग्य वस्तु, निर्माण सामग्री र जीवनोपयोगी सामान सहजै ल्याउन सकिने छ भने सिमकोट र वरपरका कृषि तथा जडीबुटीजन्य उत्पादन चीनसम्म निर्यात गर्न सजिलो हुनेछ ।

हाल कर्णाली प्रदेशका बासिन्दाले दैनिक उपभोग्य सामग्री ल्याउन धेरै खर्चिलो र कठिन बाटो पार गर्नुपर्छ । सडक निर्माणपछि ढुवानी खर्च घट्ने मात्र होइन, स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने सम्भावना बढ्ने छ । यसले स्थानीय रोजगारी सिर्जना गर्ने र व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि गर्ने देखिन्छ ।

सडकले पर्यटन क्षेत्रलाई समेत नयाँ आयाम दिने अपेक्षा गरिएको छ । हुम्ला सुन्दर हिमाली भू–परिवेश, धार्मिक महŒवका स्थल र साहसिक पर्यटनको आकर्षणका कारण पर्यटकलाई लोभ्याउने सम्भावना बोकेको जिल्ला हो । सडक विस्तारसँगै आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने, होटेल व्यवसाय, यातायात, हस्तकला र स्थानीय उत्पादनमा नयाँ अवसर सिर्जना हुने निश्चित छ । यसले कर्णाली प्रदेशलाई मात्र नभई राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पु¥याउने देखिन्छ ।

सडक निर्माणलाई लिएर स्थानीयमा उत्साह र अपेक्षा दुवै बढेको छ । हुम्लावासीले भोग्दै आएको कठिनाइ, महँगो ढुवानी र आपूर्ति समस्याबाट मुक्ति पाउने आशा गरिएको छ । कर्णाली करिडोर (उत्तर खण्ड हिल्सा) सिमकोट हुम्लाका प्रमुख नेपालीका अनुसार चीनको सक्रिय पहल र सहयोगले सडक विस्तारलाई मूर्तरूप दिने संकेत मिलिसकेको छ ।

यसरी हेर्दा हिल्सा–सिमकोट सडक केवल यातायातको पूर्वाधार मात्र होइन, हुम्ला जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारशिला बन्नेछ । यसले सीमान्तकृत कर्णालीलाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनेछ भने नेपाल–चीन व्यापार सम्बन्धलाई थप मजबुत बनाउनेछ । सडकले हुम्लालाई भौगोलिक कठिनाइको प्रतिमानबाट बाहिर निकालेर अवसर र समृद्धिको यात्रातर्फ अघि बढाउने स्पष्ट संकेत देखिएको छ ।