डडेल्धुराको नवदुर्गा गाउँपालिकामा बिहीबार बिहान एक जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित अन्य ६ जना घाइते भएका छन्।
ठाँटाबजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको जिप कच्ची सडकबाट तल खसेको थियो।
जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार बिहान करिब ९ बजेतिर नवदुर्गा गाउँपालिका-५, चौडस्थित कच्ची सडकखण्डमा उक्त दुर्घटना भएको हो। चालक रामबहादुर साउदले चलाइरहेको से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो।
प्रहरीले मृतकहरूको सनाखत गरेको छ। दुर्घटनामा परी नवदुर्गा गाउँपालिका-५ बस्ने १८ वर्षीय शुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी, दुर्घटनामा परी घाइते हुनेहरूमा नवदुर्गा-५ की १८ वर्षीया शुसिला बिक, ४ वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्र बहादुर साउद, ४२ वर्षीय गणेश बहादुर साउद, ४४ वर्षीय प्रकाश बिक र चालक ३५ वर्षीय राम बहादुर साउद रहेका छन्।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर बिष्टले दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए।