क्याप्सनः निर्माणाधीन विद्यालयको भवन ।
दैलेख भदौ१४ गते । दैलेखको आठबीस नगरपालिका– ६ खड्केगडेन स्थीत शिव आधारभूत विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१ ÷०८२ मा सशर्त अनुदानमा दुई कोठे भवन निर्माण गर्ने भनेर १५लाखको लागतमा निर्माण थालिएकोमा रकम नहुँदा भवन अधुरै रहेको हो ।
प्रदेश सरकारले सशर्त अनुदानमा दुई कोठे भवन निर्माण गर्ने भनेर १५ लाख लगानी गरेको यस वर्ष एक रुपैंँया पनि बजेट विनियोजन नगर्दा उक्त विद्यालयको भवन अधुरै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर थापाले बताए । उनले उक्त भवनका लागि यो वर्ष न त पालिकाले बजेट दिएको छ, न प्रदेश सरकारले नै बजेट दिएको गुनासो गरे ।
पछिल्लो समयमा विद्यालयमा ढलान मात्रै गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले जानकारी दिए ।“गत आर्थिक वर्षमा जम्मा १५ लाख रुपैँया बजेट आएको थियो । उक्त बजेटले भवन बनाउन सकिएन ।”अध्यक्ष थापाले भने, “करिब एक वर्ष गतादेखि भवनको काम अघि नबढ्दा विद्यालयले दैनिक पठनपाठनमा समस्या भोग्नुपरेको छ । “भवन निर्माण नहुँदा विद्यार्थीले एउटै कोठामा दुई ओटा कक्षाका राखेर पढ्न बाध्य छन्।”
बजेट अभावकै कारण अलपत्र परेको विद्यालय भवन पूरा गर्न आवश्यक बजेटको व्यवस्थापन गरिदिन यो वर्ष पनि प्रदेश सरकार, नगरपालिकालाई आग्रह गरिएको उनले बताए ।
यस्तै कक्षा५ सम्म पढाइ हुने विद्यालयमा हाल चार सय १सय३४जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक रामनाथ योगीले जानकारी दिए ।उनले पर्याप्त बजेट नहुँदा भनेको समयमा भवन निर्माण हुन नसक्दा विद्यार्थीलाई एउटै कोठामा दुई ओटा कक्षाका विद्यार्थीहरु राखेर अध्यापन गर्न बाध्यता सिर्जना भएको बताए । समयमा विद्यालयको भवन निर्माण कार्य पूरा नहुँदा विद्यार्थीहरुको पठनपाठन र अन्य क्रियाकलाप संचालन गर्न समस्या भएको प्रधानाध्यापक योगीले गुनासो गरे ।
बजेट अभावका कारण निर्माण सुरु गरिएको विद्यालय भवन पूर्ण हुन नसकेको भन्ने आफूलाई कुनै जानकारी नआएको आठबिस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार माझीले बताए । उनले अधुरो रहेको भवन निर्माणका लागी नगरपालिको प्राथमिकतामा राखेर आवश्यक बजेटको व्यवस्थापन गरिने बताए ।