सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१२ नेवारेको सडकखण्डबाट लागू औषध ब्राउनसुगरसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार साँझ ७ः३० बजे लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले भे.३ प. ४८६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा दुई जनालाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा विरेन्द्रनगर नगरपालिका–१२ नेवारे निवासी २८ वर्षीय निरज बाबुराई र हाल अस्थायी रूपमा सुर्खेतमा बसोबास गर्दै आएका २४ वर्षीय विशाल राई रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ ६१० मिलिग्राम (शुद्ध तौल), नगद ५ हजार रुपैयाँ, डिजिटल तराजु १ थान र प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको छ।
संयुक्त टोलीमा लागुऔषध नियन्त्रण शाखाका प्र.स.नि. कृष्ण चन्द र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्र.स.नि. रुद्र थापाको कमाण्ड रहेको थियो।
पक्राउ परेकामाथि लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।