लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्मा परी ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् ।
सो अवधिमा बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण, चट्याङलगायत ३३५ वटा घटना घटेका थिए । ती घटनाका कारण मानवीय क्षति भएको हो । यसरी भएको विपद्ले रु ५१ लाखबराबरको भौतिक क्षति पुगेको अनुमान गरिएको छ । साउनमा मात्र बाढीमा परेर दुई, पानीमा डुबेर २७, आगलागीमा परेर एक, विषाक्त खाद्य सेवनका कारण चार, सर्पदंशका कारण आठ र अन्यमा एक गरी ४३ जनाको मृत्यु भएको जनाइएको छ ।
प्रदेशस्तरीय विवरणअनुसार दाङमा सात, कपिलवस्तुमा नौ, रूपन्देहीमा पाँच, बाँकेमा दुई, गुल्मीमा दुई, पाल्पामा दुई, प्यूठानमा चार, बर्दियामा तीन, अर्घाखाँचीमा दुई, नवलपरासी पश्चिममा दुई, रुकुमपूर्वमा एक र रोल्पामा चार जनाको ज्यान गएको छ ।