☰ open Loading... 27 September 2025|  

नक्कली विवाह गरेर ठगी गर्ने गिरोहको पर्दाफास, सुर्खेतबाट दुई जना पक्राउ
पश्चिम नेपाल   | १९ भाद्र २०८२, बिहीबार १४:५९

सामाजिक सञ्जालमार्फत नक्कली विवाहको नाटक रचेर आर्थिक ठगी गर्ने गिरोहको गतिविधिमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न पुरुषहरूलाई विवाहको प्रलोभनमा पारेर नगद तथा गरगहना लिएर फरार हुने शैलीमा ठगी गर्दै आएको आरोपमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा दैलेख साढु गाउँ विकास समिति वडा नं. ३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतमा बसोबास गर्दै आएका ४० वर्षीय गोपाल कुमार वि.क. र अछाम तुर्माखाँद गाउँपालिका–३ सिजी घर भई हाल सुर्खेतको वीरेन्द्रनगर–१० मा बस्ने ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन्।

प्रहरीका अनुसार भविसरा र गोपालले फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत सम्पर्क गरी आफूहरू नक्कली आमाबाबु र छोरी बनेर विवाहको नाटक रच्ने गर्थे। विवाहपछि बेहुली बनेकी महिलाले घरबाट नगद, सुनचाँदी लगायतका गरगहना लिएर फरार हुने गरेका थिए।

पीडितहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएपछि गरिएको अनुसन्धानका क्रममा एउटै महिलाले फरक–फरक मितिमा विभिन्न पुरुषहरूसँग विवाह गरेको खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरूलाई भदौ १७ गते सुर्खेतको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो।

हाल उनीहरूलाई अपराधिक लाभ र ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जानकारी दिएको छ।