☰ open Loading... 27 September 2025|  

नियात्रा–भाग ४ः वडिमालिका दर्शन
पश्चिम नेपाल   | १९ भाद्र २०८२, बिहीबार १६:५५

वडिमालिकाको दिव्य दर्शन र प्रस्थानको तयारी

२०८२ साल, साउन महिनाको त्यो २३ गते। जनैपूर्णिमाको अघिल्लो दिन, जुन वडिमालिका माईको दर्शन गर्ने खास दिन रहेछ। हामी बिहान १ बजे नै उठ्यौँ। समूहमा हिँड्दाको कठिनाइ, एकैछिनमा हुने कामले पनि समय लिँदोरहेछ। तयारी गर्दागर्दै २ बज्यो। त्यसपछि हामी उकालो लाग्यौँ, ठाडो र अप्ठ्यारो उकालो। पाइलाहरू बिस्तारै-बिस्तारै माथितिर लम्कँदै थिए।

केही समयपछि हामी वासुधारामा पुग्यौँ। ढुङ्गाको कापबाट निस्केको चिसो र मीठो पानीले मन प्रफुल्ल भयो। यति उचाइमा रहेको ऐतिहासिक धारामा स्नान गर्न पाउनु र त्यो पवित्र जल पिउनु हाम्रो लागि सौभाग्य थियो। हामीले वासुधाराको जल स-साना बोतलमा भरियौँ। हाम्रो एक साथीले प्राविधिक कारणले फेरि जल लिनुपर्ने भयो। हामीसँगै माथि चढ्दै गए। करिब ३:३० बजे हामी वडिमालिका मन्दिर पुग्यौं।

मन्दिरको सानो भिरालो चौरमा पालैपालो टेन्टहरू टाँगिएका थिए। खचाखच तीर्थयात्रीहरूको भीड थियो। दर्शनका लागि लामो लाइन लागेको थियो। महिलाको लाइन छुट्टै रहेछ, जहाँ करिब ५०० जनाजति थिए। हामीसँग भएका महिला साथीहरू त्यसै लाइनमा लागे। अचम्म! उनीहरूको लाइन छिटो अगाडि बढ्यो र एक घण्टामै दर्शन गर्न पाए। तर, पुरुष साथीहरूले भने बिहान ८ बजेसम्म कुर्नुपर्यो।

वडिमालिका माई डाँडामै विराजमान थिइन्। पहिले यहाँ सानो मन्दिर रहेछ, तर यसपालि नेपाली सेनाले करिब दुई करोड लगानीमा भव्य नयाँ मन्दिर बनाएको रहेछ। नयाँ मन्दिरमा बाजुराका पुजारी बस्ने रहेछन्। बाहिरपट्टी पाल टाँगेर बसेका कालीकोटका पुजारीलाई देखेर मनमा कताकता अपहेलनाको भाव जाग्यो। यद्यपि, हामीले उहाँबाट पनि टीका ग्रहण गर्यौं।

यसपालि सामाजिक सञ्जाल र टिकटकमा मालिकाका गीत र तीर्थयात्रीहरूको लस्कर देख्दा दर्शनार्थीको संख्या ह्वात्तै बढेको रहेछ। तर, यसलाई दिगो बनाउन अझै धेरै व्यवस्थापकीय सुधार आवश्यक देखियो। जस्तै: लाइन व्यवस्थापन, पूजाआजाको सहजता, उचित टेन्ट, धर्मशाला, पानीको व्यवस्था, र मूल्यमा एकरूपता आदि।

करिब ८:३० बजे हामी फर्कने तयारीमा लाग्यौं। हामी ११ जनामध्ये ७ जना नाट्येश्वरी हुँदै जाने र ५ जना त्रिवेणी हुँदै फर्कने सल्लाह भयो। रमित योगी, एमबी गिरी, मदन सेजुवाल र धनलक्ष्मी धिताल हामीबाट बिदा भए। हामी बाँकी साथीहरू नाट्येश्वरीका लागि बाजुराको बाटो लाग्यौं।

बिहान पानी परिरहेको थियो। वडिमालिका मन्दिर वरिपरिको दुर्गन्धले मन खिन्न भयो। स्थानीयहरू भन्दै थिए— ‘यही फोहोर पखाल्न पानी परेको हो, सबै बगाएर लैजान्छ।’ तर, सरकारले पनि प्रकृतिको भर परे यसको शोभा खस्किने निश्चित थियो। भविष्यमा तीर्थयात्रीको संख्या घट्नेछ र यसको महिमामा दाग लाग्नेछ। तसर्थ, कच्ची भए पनि शौचालयको व्यवस्थापन अति आवश्यक थियो।

नाट्येश्वरी झर्ने भीड अझै ठूलो थियो। लगातारको वर्षाले बाटो चिप्लो र खतरनाक बनेको थियो। अघिल्लो दिन साँझ एक तीर्थयात्री त्यहीँबाट खसेको कुराले हामी अझै होसियार भएर हिँडिरहेका थियौं। समाउने ठाउँ र रुखहरू थिएनन्। हामी लठ्ठीको सहारामा, भगवानको नाम जप्दै अगाडि बढ्यौं। बिहान ११ बजे हामी विष्णुपानी पुग्यौं। हिजो लडेको मान्छेको लास भेटिएको रहेनछ। पुलिस टोली खोजतलासका लागि पूर्वतिर हिँडेको थियो। हामी त्यहाँको एउटा होटलमा आराम गर्यौं। खाजाको नाममा चनाको रस मात्र पाइयो। मलाई दूध-चिया खाने मन थियो, तर दूध नभएपछि मैले कालो चिया अस्वीकार गरें।

त्यही बेला एकजना अग्लो कदका अनुभवी व्यक्ति त्यहाँ पुगे। सबैले उहाँलाई सम्मान दिएको देखेर मैले उनी को हुन् भनी अनुमान गरें। उहाँले हाम्रो कुरा सुनेपछि कालो चियाका फाइदाहरू बुँदागत रूपमा बताउनुभयो। उहाँले भन्नुभयो— ‘जडिबुटीवाला चियाले शरीरलाई धेरै फाइदा पुग्छ।’ मैले परिचय माग्दा उहाँले आफ्नो नाम पदमबहादुर शाही बताउनुभयो, जो एक माननीय र प्रदेश सभासद हुनुहुँदो रहेछ।

मैले उहाँलाई सुझाव दिँदै भनें— ‘हामीले हिँडेको बाटो अप्ठ्यारो रहेछ, यसलाई सिधा नबनाई नागबेली बाटो बनाउनुपर्यो।’ उहाँले बजेट परेको र छिट्टै काम सुरु हुने जानकारी दिनुभयो। उहाँले फेरि कालो चिया खान आग्रह गर्दै पैसा आफैं तिर्ने बताएपछि मैले नाइँ भन्न सकिनँ। छोटो कुराकानीपछि हामी माननीयसँग बिदा भयौं।

नाट्येश्वरी पुग्दासम्म बाटोमा कतै पानी भेटिएन। ठूलागाडा पुग्नुभन्दा अगाडि गोठमा बसेका एकजना वृद्ध बाबासँग पानी माग्यौं। उहाँले टाढाबाट ल्याएको पानी खुसीसाथ दिनुभयो। त्यही पानीले प्यास मेटाएर हामी साँझ ७ बजे ठूलागाडा पुग्यौं। नाट्येश्वरी पुग्न अझै दुई घण्टा लाग्ने भएपछि त्यहीँ बास बस्यौं। सय रुपैयाँमा एक गिलास दूध खान पाउँदा पनि मन खुसी भयो। फेरि उही टेन्ट र पाखीमा रात बित्यो।

नाट्येश्वरीको मार्गमा एक कठिन रात

२०८२ साल, साउन महिनाको त्यो २४ गते।

वडिमालिकाको दर्शनपछि हामी बिहानीको सुनौलो घामसँगै ओरालो झर्दै थियौं। पाइला थकित थिए, तर मनमा एक अद्भूत शान्ति र आत्मसन्तुष्टि थियो। हिजोसम्म हामी जुन उचाइमा थियौं, त्यो केवल भौगोलिक उचाइ मात्र थिएन, त्यो त आस्थाको शिखर थियो। करिब दश बजे हामी नाट्येश्वरी मन्दिरको प्राङ्गणमा पुग्यौं। मन्दिरको प्रवेशद्वारमा नै मानवसागरको बाक्लो भीड देखिन्थ्यो।

हातमा भाकलका बोकाहरू लिएर आएका भक्तजनहरूको लस्करले मन्दिरको महिमा बयान गरिरहेको थियो। यहाँको विश्वास कति गहिरो र अटुट रहेछ भन्ने कुरा त्यो भीडबाटै प्रस्ट हुन्थ्यो। मानिसहरूको अनुहारमा एक प्रकारको दिव्य तेज थियो— आफ्नो मनोकांक्षा पूरा भएकोमा ईश्वरप्रति कृतज्ञता र नयाँ कामनाका लागि भक्तिभावको सम्मिश्रण। जे माग्यो, त्यो पूरा हुन्छ भन्ने विश्वासमा यहाँ थुप्रै बोकाहरूको सामूहिक बलि चढाइन्थ्यो। वडिमालिकाको दर्शनपछि नाट्येश्वरीको दर्शन नगरेसम्म यात्रा अपूर्ण मानिने रहेछ।

यो मान्यताले मलाई दैलेखको पञ्चकोशी यात्राको झझल्को दियो, जहाँ पाँच पवित्र स्थलको दर्शनपछि मात्र यात्रा पूर्ण हुन्छ। नाट्येश्वरी मन्दिर विशाल र भव्य थियो। वरिपरिका घना जंगलभित्र खुला चौर र धर्मशालाले यसलाई अझै सुन्दर बनाएको थियो। बाजुराका स्थानीय बासिन्दा र वडिमालिकाबाट फर्केका तीर्थयात्रीहरूको चहलपहलले मन्दिरको वातावरण जीवन्त थियो। पसल र होटलहरूको लस्करमा भाकलका बोका काटेर प्रसाद बनाइँदै थियो, कतै मानिसहरू गोलोमा बसेर प्रसाद ग्रहण गरिरहेका थिए। हामीले पनि श्रद्धापूर्वक पूजाआजा गर्यौं, प्रसाद ग्रहण गर्यौं र दिउँसो दुई बजेतिर ओरालो लाग्यौं।

बाटोमा हाम्रो भारी झोला देखेर केही स्थानीय महिलाहरूले सहयोगको हात बढाए। ‘झोला हामी बोकिदिन्छौं, दिनुस्,’ उनीहरूको स्वरमा न कुनै स्वार्थ थियो न कुनै अपेक्षा। सुरुमा हामीलाई संकोच लाग्यो, कतै पैसा माग्ने हुन् कि? हामीले विनम्रतापूर्वक ‘भैगो’ भन्यौं, तर उनीहरूको आग्रह यति प्रबल थियो कि हामीले आफ्नो झोला उनीहरूलाई दियौं। तल पुगेपछि गाडी चढ्ने ठाउँमा उनीहरूले हाम्रो झोला फिर्ता दिए। हामीले धन्यवादसहित केही पैसा दिन खोज्दा उनीहरूले लिन मानेनन्। बरु, हाम्रो खल्तीमा राखिदिए। पछि मात्र थाहा भयो, त्यहाँको जनविश्वास अनुसार तीर्थयात्रीलाई सहयोग गर्नु ठूलो पुण्यको काम मानिँदोरहेछ। यस्तो निस्वार्थ सेवाभाव देखेर हामी मन्त्रमुग्ध भयौं। आजको स्वार्थपूर्ण संसारमा यस्तो पवित्र हृदय र मानवता कहाँ पाइन्छ र? ती महिलाहरू मानवताका साक्षात् प्रतिरूप रहेछन्।

गाडीको पालो कुर्दै हामी थाक्यौं, तर सिट पाएनौं। एउटै बोलेरोमा कति जना अट्नु? हामी फेरि पैदलै बाम्का बजारतिर झर्यौं। बाटोमा मकै खाँदै, वरपरका सुन्दर गाउँ र बुढीगङ्गा नदीको मनोरम दृश्य हेर्दै हामीले यात्रालाई निरन्तरता दियौं। बाम्का बजार मार्तडी र साँफेबगरको केन्द्र रहेछ। साँझ ६ बजेतिर हामीले एउटा बोलेरो जिप रिजर्भ गर्यौं। हिँडेर थाकेका हाम्रा लागि त्यो बोलेरो फुल-अप्सेन क्रेटा कारजस्तै सुखद लाग्यो। एक घण्टाको यात्रापछि हामी साँफेबगर पुग्यौं र त्यस रात साइनो होटलमा बास बस्यौं।

नाट्येश्वरी र वैद्यनाथ धामको दर्शन

२०८२ साल, साउन महिनाको त्यो २५ गते।

बिहान नुहाइधुवाइ गरी हामी वैद्यनाथ मन्दिरको दर्शन गर्न गयौं। वैद्यनाथ धाम बुढीगङ्गाको किनारमा अवस्थित एक व्यवस्थित र विशाल धार्मिक केन्द्र रहेछ। अटो चालकले हामीलाई आउन-जान रु ८०० लाग्ने बताए। मूल्य अलि महँगो लागे पनि उनको इमान्दारी र आफ्नै देशमा केही गरौँ भन्ने भावनाले हामीलाई मन खोलेर पैसा दिन मन लाग्यो। त्यस बेला मेरी जीवनसङ्गिनीले भनिन्, ‘यसरी हरेक नेपाली युवाले विदेशमा ऋण लिएर स्वदेशलाई सराप्नुभन्दा आफ्नै माटोमा पसिना बगाए हुन्थ्यो।’ उनको यो कुराले हामी सबैको मन छोयो र हामीले उनको विचारलाई पूर्ण समर्थन गर्यौं।

त्यसपछि हामी अर्को बोलेरोमा चढेर मंगलसेन हुँदै ठूलासैन पुग्यौं। हामीले खीर खाने योजना बनाएका थियौं, तर खीरले मात्र पेट भरिएन। खीरलाई खाजा मानेर हामीले दौरीको तरकारी र भात खायौं। खाना मिठो थियो, तर मन अघाएको थिएन। ठूलासैन चिसो ठाउँ भए पनि खानाको स्वादले हामीलाई निकै खुसी बनायो। त्यसपछि हामी राकम पुल नजिक पुग्यौं, जहाँ हाम्रा साथीहरू डम्बर र भीम माझि हामीबाट बिदा भए।

हामी पाँच जनाले सुर्खेतका लागि अर्को बोलेरो रिजर्भ गर्यौं। मध्यपहाडी राजमार्गको रमणीय दृश्य हेर्दै हामी अगाडि बढ्यौं। साँझ आठ बजे हामी गुराँसे पुग्यौं, जुन ठाउँ सेलरोटी र मिठो खानाका लागि प्रख्यात रहेछ। हामीले खाना खायौं र चालक आकाश शाहीको सहयोगले राती दस बजेतिर हामी सुर्खेतको वीरेन्द्रनगरस्थित आ-आफ्नो घर पुग्यौं।

काठमाडौंबाट १८ गते सुरु भएको यो यात्रा, वडिमालिकाको दर्शनपछि २५ गते सुर्खेतमा आएर सम्पन्न भयो। त्यसपछि भदौ २ गते हामी टोखा फर्कियौं। ३ गते बिहान पूजापाठ गरी बहिनी, भान्जा र छोराहरूलाई प्रसाद, टीका र दक्षिणासहित वडिमालिका दर्शनको यात्राको विधिवत् समापन गर्यौं।

वडिमालिका— यो केवल एउटा यात्रा मात्र थिएन, यो त एउटा आध्यात्मिक अनुभूति थियो। वडिमालिका केवल एउटा ठाउँ मात्र होइन, यो त हामी सबैको आस्थाको केन्द्र हो, शक्तिपीठ हो।

वडिमालिका माईले हामी सबैको कल्याण गरून्!