सुर्खेत, भदौ २० गते ।
कर्णाली प्रदेश सरकारले अन्तरप्रदेश जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । एक प्रदेशबाट अर्को प्रदेशमा आउँजाउँमा सहज होस् भन्ने उद्देश्यले सडक निर्माणको काम प्राथमिकतामा राखेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना कार्यान्वयन गर्न लागिएको छ ।
जसअन्तर्गत मुलपानी–रानीघाट–तेलपानी भूरीगाउँ सडक निर्माण गरिनेछ । उक्त सडक निर्माणका लागि गत आर्थिक वर्षमा समेत बजेट विनियोजन गरिएको थियो । कर्णाली प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राखेको छ । कर्णाली र लुम्बिनी प्रदेश जोड्ने मुलपानी–रानीघाट–तेलपानी भूरीगाँउ सडक निर्माणलाई प्राथमिकताका साथ राखेको हो । यो सडक आयोजना नयाँ भने होइन । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि सडक निर्माण योजना अघि बढाएको हो । सडक निर्माणको काम भने आर्थिक वर्ष २०७६÷२०७७ देखि सुरु गरियो । दुई खण्डमा विभाजन गरेर सडक निर्माणको काम अघि बढाइएको भएपनि अहिलेसम्म निर्माणको काम सम्पन्न भएको छैन ।
सरकारले यो वर्ष पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणको कामलाई सम्पन्न गर्न लागेको हो । पहिलो खण्डको रूपमा मुलपानी, फलाटे–रानीघाट सडक निर्माणको कामलाई अघि बढाइएको थियो । दोस्रो सडक खण्डको रूपमा रानीघाट–तेलपानी–भुरीगाँउ सडक निर्माणलाई अघि बढाइएको छ । २०७७ असार ५ गतेदेखि २०७८ फागुन १६ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको थियो । तर अहिले सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधन आइसकेपछि म्याद थपिएको हो । एक पटक म्याद थपेर २०८२ माघ २२ गतेसम्म सडक निर्माण गर्नेगरी काम अघि बढाइएको छ । १३ करोड दुई लाखमा निर्देशनालय र थोदुङ्ग जागृती जेभीसँग सम्झौता भएको हो । उक्त निर्माण क्षेत्र वन जंगल निकुञ्जको संरक्षित क्षेत्र भएकाले अहिले निर्माणको काम रोकिएको पूर्वाधार विकास निर्देशनालयले जनाइएको छ ।
यसैगरी प्रदेश सरकारले खुलालु–लालु–भेरीसाँगु–कुमालगाउँ–एअरपोर्ट–मेहल्मुडी–मुर्मा–रास्कोट लैफु सडक निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको छ । गमगडी–सेरी–सुकाढिका सडक, हुम्ला कर्णाली र मुगु कर्णाली नदी दोमुख–गमगडी–नाक्चेलाग्ना सडक, बाजुरा–कुवाडी–ताजाकोट–अदानचुली–सर्केगाड सडक, सल्यान खलङ्गा–कालिमाटी–घुईयावारी–काप्रेचौर–खर्कवार–कोहलपुर सडक, तालीदेखि रूप पाटन हुँदै खार्वाङ पूर्वी रूकुम पोखार जोड्ने सडक, छिनखेत पूर्वी रुकुम सडक, कुइने–जामु–बाबियाचौर–भक्तरी–जंगलघाट लगायतका अन्तरप्रदेश सडक निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
यस्तै गत आर्थिक वर्षमा कर्णाली र लुम्बिनी प्रदेश सरकारबिच अन्तरप्रदेश विकास र समृद्धिमा सहकार्य गर्ने समझदारी भएको थियो । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संयुक्तरूपमा हस्ताक्षर गर्नुभएको थियो । दुई प्रदेशबिच भएको समझदारीमा अन्तरप्रदेश आवद्ध भएका महत्वपूर्ण सडक पूर्वाधारहरू प्राथमिकतामा राखिने जनाइएको थियो । कर्णाली र लुम्बिनी जोडिने पाँच वटा रणनैतिक महत्वका सडक पूर्वाधारहरू निर्माण गर्न आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्ने समझदारी भएको थियो । जसमा जमुनाह–हिल्सा सडक, सुर्खेत–तेलपानी–भुरीगाउँ सडक, राप्ती लोकमार्ग निर्माण, कोहलपुर–सुर्खेत सडक विस्तार, कोहलपुर–बबई तथा बबई–छिञ्चु सुरूडमार्ग सम्भाव्यता अध्ययनलाई दुवै सरकारले प्राथमिकतामा राख्ने सम्झौतामा भनिएको थियो । सोही सम्झौता अनुरूप कर्णाली प्रदेश सरकारले आफ्नो योजना अघि सारेको छ ।
योजना कार्यान्वयनका लागि बजेटको व्यवस्था गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । यो वर्ष अन्तरप्रदेश जोड्ने सडक निर्माणका लागि ४९ करोड बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताएका छन् । उहाँका अनुसार यो वर्ष सातवटा अन्तरप्रदेश जोड्ने सडक निर्माण गरिनेछ । गतवर्ष गरिएको सम्झौताको कार्यान्वयन हुनेगरी काम अघि बढाइएको छ ।