☰ open Loading... 27 September 2025|  

दुईवटा प्रदेश प्रहरीको मिलेमतोमा बबई नाकामा खुलेआम घुस
पश्चिम नेपाल   | २३ भाद्र २०८२, सोमबार ०९:१५

सार्वजनिक सवारीसाधनमा नेपालगन्जबाट सुर्खेत या सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै हुनुहुन्छ भने बबई नाकामा देखिने दृश्य तपाईंलाई अस्वाभाविक लाग्नसक्छ । चेकिङ पोस्टमा रोकिनुअगावै गाडीको साइडबाट कन्डक्टर ओर्लन्छन् । ब्लुबुक, लाइसेन्स खोल्छन् र सय रुपैयाँको नोट राखेर प्रहरीतर्फ जान्छन् ।

प्रहरीले नोट बुझेको केही सेकेन्डमै गाडी गन्तव्यतर्फ लाग्छ । यो दृश्य कुनै एक चालक, गाडी वा ठाउँमा मात्र देखिँदैन, बबई पुलको वारि–पारि पनि देखिन्छ । बिनाप्रमाण, बिनारसिद प्रहरीले सयौं सवारीसाधनबाट वर्षौंदेखि गैरकानुनी रूपमा खुलेआम रकम असुल्दै आएका छन् ।

रत्न लोकमार्ग (कोहलपुर–सुर्खेत सडक)अन्तर्गत बबई नदीले छुट्याउँछ, लुम्बिनी र कर्णाली प्रदेशको सिमाना । पुलवारि सुर्खेत र पारि बर्दिया जिल्ला पर्छन् । यही सडकमा दिनहुँ सयौं मालवाहक र यात्रुवाहक सवारीसाधन गुड्छन् । ती सवारीसाधनले ट्राफिक र जनपद प्रहरीलाई एउटा ट्रिपको ५० देखि सय रुपैयाँसम्म बुझाउँदै आएका छन् ।

चालकका अनुसार सुर्खेतको सुब्बाकुना, छिञ्चु, बबई पुलवारि, पुलपारि (बर्दिया) र बाँकेको चिसापानीमा ट्राफिक प्रहरीका पोस्टमा अवैध रूपमा रकम बुझाइन्छ । ‘२ सय मिटरको दूरीमा दुई ठाउँमा दुई सय रुपैयाँ एउटै लटमा बुझाउनुपर्छ, कहिलेकाहीँ त गाडीमा प्यासेन्जर नै हुँदैनन्, आफ्नो व्यक्तिगत पैसा निकालेर प्रहरीलाई बुझाउनुपर्छ,’ बागेश्वरी यातायात व्यवसायी प्रालिमा आबद्ध एक चालक भन्छन्, ‘बिनागल्ती, प्यासेन्जर नहुँदा पनि पैसा बुझाउनुपर्दा मन कटक्क खान्छ, नदिँदा चेकिङका नाममा अनावश्यक दुःख दिन्छन्, यो त अचाक्ली भयो, सिस्टम नै बसिसक्यो ।’

काँक्रेविहार यातायात व्यवसायी प्रालिमा आबद्ध नेपालगन्ज–सुर्खेत रुटमा ईभी गाडी चलाइरहेका अर्का एक जना चालकले पनि प्रहरीलाई ठाउँ–ठाउँमा पैसा बुझाउनुपर्ने बाध्यता रहेको सुनाए ।

प्रहरीलाई रुपैयाँ नदिने हो भने अनावश्यक सताउँछन्, यदि नदिएमा यात्रु किन बढी बसालेको, सामान किन राखेको ? जस्ता प्रश्नले हैरानी व्यहोर्नुपर्छ,’ ती चालकले भने । विगतमा गुनासो पोख्दा प्रहरीबाट धम्की आएको चालकहरू बताउँछन् । त्यसले गर्दा चालकहरूले गाडी नम्बरसहितको परिचय नखुलाउन अनुनय गरे । स्थानीय प्रहरीका भनाइमा केही वर्ष अघिसम्म लुम्बिनी र कर्णालीका प्रहरीबीच अघोषित सम्झौता थियो– बबई पुलपारि पैसा दिएमा वारि दिनुनपर्ने, वारि दिएमा पारि दिनुनपर्ने ।

तर, अहिले यो भद्र सम्झौता दुईवटै प्रदेशका प्रहरीले पालना गरेका छैनन् । सुर्खेत र बर्दिया जिल्लाका प्रहरीले यति छोटो दूरीमा पैसा असुल्न थालेपछि गाडी चालकहरू दिक्क छन् । प्रदेश फरक भएको बहानामा गरिने चेकिङले आतंक सिर्जना गरेको उनीहरू बताउँछन् ।

रत्न लोकमार्गमा दैनिक ४ सयको हाराहारीमा सवारीसाधन चल्छन् । ती सवारीसाधनबाट एउटै रुटको मात्र हिसाब गर्दा पाँच ठाउँबाट गरी ५० देखि सय रुपैयाँका दरले दैनिक हजारौं रकम जम्मा हुन्छ । मासिक हिसाब गर्दा भने यो अंक लाखौंमा पुग्छ ।

अझ कतिपय यात्रुले घरायसी प्रयोजनका लागि ल्याइएका न्यून परिमाणका स–साना सामानसमेत प्रहरीले भन्सारकै शैलीमा चेकिङ गर्ने गरेको गुनासो छ । बिलको खोजी गर्छ । बिल देखाउन नसके प्रहरीलाई सुटुक्क पैसा दिएमा सहजै छाडिदिन्छ । भन्सार शैलीको चेकिङमा प्रहरीले सास्ती दिएपछि केही अघि यात्रुहरूले बबईस्थित लोकमार्गमै अवरोध पु¥याएर सडक जाम गरेको घटना सार्वजनिक भएको थियो ।

अवैध दस्तुरः राजनीतिदेखि प्रशासनसम्म मौन
वर्षौंदेखि यातायात व्यवसायीहरू प्रहरीको आतंक र अवैध दस्तुरको सिकार भइरहँदा दुई प्रदेशको राजनीतिक नेतृत्व र सुरक्षा संयन्त्र मौन छन् । पटक–पटक प्रहरीको प्रदेश र जिल्ला नेतृत्व परिवर्तन हुँदा यो विषय जोडतोडले उठ्छ, उठाइन्छ । तर, सुधार आउन नसकेपछि सवारीधनी र चालकहरू अचेल बोल्नै छाडेका छन् ।

नेपाल प्रहरीको छविमा धब्बा लाग्ने सुर्खेत–कोहलपुर–नेपालगन्ज रूटमा देखिने यस चित्र’bout प्रहरीका उच्च अधिकारीहरू जानकार नभएका होइनन् । सुधारको प्रयास नहुँदा यातायात व्यवसायीले स्थानीय प्रहरी र माथिल्लो निकायका प्रहरीबीच मिलेमतोको आशंका गरेका छन् ।

ट्राफिक प्रहरी भन्छन्ः कारबाही हुन्छ
नेपाल प्रहरी लोकमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एवं प्रहरी उपरीक्षक भावेश रिमालले सवारीसाधनबाट असुली गर्ने प्रहरीलाई विगतमा कारबाही गरिएको दाबी गर्दै थप निगरानी गरिने बताए । ‘डिउटीमा खटिएको कर्मचारीले अनुशासनविपरीत र गैरकानुनी काम गरेमा कारबाही हुन्छ, हुँदै पनि आएको छ, बबईको सन्दर्भमा पनि हामी फेरि सूक्ष्म निगरानी गर्छौं,’ उनले भने ।

डीआईजीद्वयको दाबीः जिम्मेवारी फेर्छौं
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी माधवप्रसाद श्रेष्ठले बबईमा अनुशासनविपरीत काम गर्ने प्रहरीको जिम्मेवारी हेरफेर गर्न लागिएको बताए । धेरै गुनासो आएपछि त्यहाँ खटिएकालाई जिल्लामा तान्न निर्देशन दिएको उनको भनाइ छ । ‘कर्णाली प्रदेश भित्रिँदा बबई नाकामा सुर्खेतले चेकिङ गर्ने र बाहिरिँदा वा बबई पार गरेपछि बर्दिया प्रहरीले चेकिङ गर्नेगरी लुम्बिनी प्रदेश प्रहरीसँग समन्वय भइरहेको छ,’ डीआईजी श्रेष्ठले भने ।

त्यस्तै, लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र भट्टले बबईमा खटिएका प्रहरीलाई कारबाहीको सम्बन्धमा बर्दिया प्रहरी प्रमुखलाई आवश्यक निर्देशन दिने बताए ।

राजधानी दैनिकबाट