☰ open Loading... 27 September 2025|  

प्रहरीका ४४५ भवन ध्वस्त, ११०० थान हतियार लुटपाट
पश्चिम नेपाल   | १ आश्विन २०८२, बुधबार २२:२७

जेन-जी आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ मानवीयका साथै ठूलो भौतिक क्षति भएको छ । आन्दोलनको फ्रन्टलाइनमा खटिएको प्रहरीतर्फ २३ भदौमा खासै क्षति नभए पनि २४ भदौको प्रदर्शनमा ठूलो क्षति भएको हो ।

पहिलो दिनको आन्दोलनमा केही प्रहरी सामान्य घाइते भएका थिए । पहिलो दिन प्रदर्शनकारीतर्फ अकल्पनीय क्षति भयो । सुरक्षाकर्मीको गोली लागेर नयाँ बानेश्वर र सुनसरीमा गरी २१ जनाको मृत्यु भयो ।

प्रदर्शनकारीहरू एभरेष्ट होटल अगाडिको ब्यारिकेट तोड्दै संसद् भवन प्रवेश गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाउँदै सेना परिचालन गरेको थियो ।

प्रदर्शनकारीले प्रहरीका भवनमा तोडफोड र आगजनी गर्नुका साथै गाडी जलाउने, लुट्नेसम्मका काम गरेका थिए । त्यस क्रममा देशभर नेपाल प्रहरीका कार्यालयमध्ये करिब साढे ४०० भवन ध्वस्त भए ।

प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता तथा एसएसपी रमेश थापाका अनुसार देशभर प्रहरीका ४४५ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो । जसमध्ये १९७ प्रहरी कार्यालय पूर्ण क्षति भए । ती कार्यालयहरूमा मर्मत सम्भार गरेर पुन: प्रयोग गर्न सकिने अवस्था नै नरहेको बताइएको छ ।

२५८ वटा प्रहरी कार्यालय भने आशिंक क्षति भएकाले मर्मत गरेर पुन: प्रयोग गर्न सकिने आकलन प्रहरीले गरेको छ । सबैभन्दा बढी क्षति त उपत्यका भित्रैका प्रहरी कार्यालयमा भए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार उपत्यकामा मात्रै १५३ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो ।

एआईजी बस्ने रानीपोखरीको कार्यालयमा समेत प्रदर्शनकारीहरूले आगो लगाए । उपत्यकाका डीएसपीले कमान्ड गर्ने १८ वटा प्रहरी वृत्तमध्ये मालीगाउँ वृत्त मात्रै सग्लो रह्यो ।

कार्यालयमा रहेका सवारी कति जले भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ । केही सवारीहरू जलेको अवस्थामा छन् केही सवारी चोरी भएको हुनसक्ने प्रहरीको अनुमान छ । सवारी साधनतर्फ ठूलो क्षति भएको प्रहरी बताउँछ ।

११०० थान हतियार लुटपाट

प्रदर्शनकारीहरूले प्रहरी कार्यालय तोडफोड र आगजनी मात्रै गरेनन्, हतियार समेत लुटे । प्रहरीका हतियार लुटेर पोजिसन लिँदै गरेको भिडिओ, तस्वीर प्रदर्शनकारी स्वयंले सार्वजनिक गरेका थिए ।

लुटिएका हतियारहरूमध्ये करिब ३०० थान नेपाली सेनाले बरामदसमेत गरेको थियो । सहप्रवक्ता थापाका अनुसार सानाठूला गरी प्रहरीका ११०० थान हतियार लुटिएका छन् ।

पेस्तोल, बन्दुक, ग्यास गनलगायत हतियार लुटिएको प्रहरीको भनाइ छ । नेपाल प्रहरीलाई यसअघि समेत हतियार अपुग भन्दै पटकपटक किन्ने प्रक्रिया अघि बढाउँदै रोकिँदै आएको थियो । यही अवस्थामा अहिले ११०० थान प्रहरीका हतियार लुटिएका छन् ।

१९६३ प्रहरी घाइते

जेन-जीको प्रदर्शनमा काठमाडौंदेखि देशभर १ हजार ९६३ प्रहरी घाइते भएको सहप्रवक्ता थापाले बताए ।

घाइतेमध्ये १ हजार ९३९ जना उपचारपश्चात् डिस्चार्ज भएर घर फर्किसकेका छन् । २४ जना भने अझै अस्पतालमा उपचाररत रहेको बताइएको छ । प्रदर्शनको क्रममा तीन प्रहरी मारिएका छन् ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वृत्त महाराजगञ्जकै जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङ प्रदर्शनकारीहरूको तर्फबाट मारिए ।

यसैगरी प्रहरी र प्रदर्शनकारीसमेत गरी अहिलेसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

-अनलाइनखबरबाट