सुर्खेतको भेरीगंगा नगरपालिका–६ स्थित छिन्चु–धुलियाविट सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार आइतवार दिउँसो ना ५ ख ५६०८ नम्बरको ट्रक र लु ०३–००१ प ३६३१ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार करिब २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको हो। उनको नाम र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन।
मोटरसाइकलको पछाडि सवार रहेका अछाम जिल्ला घर भएका १८ वर्षीय दमन शाही भने दुर्घटनामा घाइते भएका छन्। उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।
यस सडकखण्डमा ट्राफिक दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानीयवासीले सवारीचालकहरूलाई गति सीमाभित्र रहेर सवारी चलाउन आग्रह गरेका छन्।