आज आएर बुझ्दै छु, म सानैदेखि अलि लहडी स्वभावको रहेछु । बुझ्ने भएपछि पनि मैले माताजीलाई धेरै दुःख दिएँ । आज उहाँ हुनुहुन्न । उहाँको ठाउँमा घरमुली म आफै हुँ । नानीदेखि लागेको त्यो बानीले आज पनि कहिलेकाहीँ परिवारका अन्य सदस्यहरूलाई दुःख दिइरहे झैँ लाग्छ । मेरो त्यो लहडी बानीको पछिल्लो संस्करण हो एउटा घोडा । किशोरकालमा घोडचढी खुबै मन पर्थ्यो । पौडी, सिकार, खेलकुद आदिमा निकै दिलचस्पी हुन्थ्यो । यो उमेरमा आएर पनि मनमा फेरि तिनै सोखको एउटा रुप बिउँतिएछ । एउटा हरेल ल्याएर आफै सधाएँ । दानापानी लाग्दै गएपछि मेरो लहडीपन उसमा पनि सरेछ क्यारे । अचानक एकदिन कुदेरै मिल्कायो । बायाँ पाखुरी त बिचबाटै ठ्वास्सै भएछ । २०८१ फागुन १४ गतेको त्यो घोडपर्वलाई लिएर धेरैले गाली गरे । अलि अलि बाइक सिकेकै थिएँ । घरमा बाइक छँदै थियो । तैपनि मेरो लहडी मनले स्कुले साथी उसैलाई रोजेको थियो । साथीले एकदिन यसरी धोका दियो कि फलामको शरीर भन्थे सबैले, त्यो पनि कर्कलाकै भाउमा गयो । दाजु डा. महेन्द्रकुमार मल्लको सल्लाहमा डा.शुभ श्रेष्ठलाई देखायौँ । त्यही साँझ सुर्खेतमा मेरो अप्रेसन सफल भयो । डा. शुभको टोलीलाई धन्यवाद दिएँ । शरीरभन्दा बेसी मन दुःखेको थियो । तैपनि भेट्न आउने हितैषी र आफन्तहरूसँग भने म सामान्य हुन खोजिरहेँ ।
चोटहरुले मानिसका दृष्टिहरू पनि बदलिदिँदा रहेछन् । फर्किँदा पनि गुराँसे पाखाभरि लालीगुराँसहरू उसै गरी राताम्ये थिए । तर त्यति वेला मेरो नजर एउटा बुढो बुटामा गएर अल्झियो । जसका सबै हाँगाहरू भाँचिएर गइसकेका थिए । तैपनि फेदनिरबाट पलाएको एउटा सानो हाँगामा पनि फूलहरू मुस्कुराइरहेका थिए । त्यसले लामो समयसम्म भावुक बनाइरह्यो । घरमा आइसकेपछि पनि एउटा खुट्टा भाँचिएको भँगेरा देखेँ । ऊ पनि आफ्ना बथानहरूसँगै भुरुरु उड्थ्यो । फर्याकफुरुक गरिरहन्थ्यो । आजकाल म त्यसको अलि बढी फ्यान भएको छु । मानिसहरूको भिडमा पनि आजभोलि मेरा आँखाहरू अशक्तहरूमै बढी अल्झिरहन्छन् ।
त्यस दिन हाम्रो विद्यालयमा सप्तरीका जयराम शरण सरको बिदाइ थियो । डेगमा थानेश्वर गौतमको ´छुट्नलाई पो रैछक्यारे….’ भन्ने कारुणिक गीत बजिरहेको थियो । मैले विगतमा पीपलचौतारा, किसान र सरस्वती मा.वि.मा भएका बिदाइका पलहरू सम्झिरहेको थिएँ । शिक्षक, विद्यार्थी र अभिभावकहरूको याद एकपटक फेरि असह्य भएर आइरहेको थियो । त्यति नै वेला तिलाले फोन गरी,
“दाजु ! डा. शुभलाई त ब्रेन ट्युमर भएछ । आजै काठमाडौँबाट दिल्ली लगिसके अरे ।”
त्यसपछि हामीले धेरै कुरा गरेनौँ । म त्यो अप्रत्यासित खबरले एकाएक स्तब्ध भएँ । उसो त डा. शुभसँग मेरो पुरानो चिनजान होइन । तर पनि कसैप्रति मन ढल्किन लामो सम्बन्ध चाहिँदैन रहेछ । कहिलेकाहीँ त एकैछिनको भेटले पनि मानिसहरूलाई जुगौँ सम्झिरहने बनाइदिँदो रहेछ । त्यसमा पनि डाक्टरले बिरामीप्रति गर्ने व्यवहारले ऊ सधैँ सम्झिरहने पात्र बन्न सक्दोरहेछ । यति सोचिसकेपछि पनि म ती दिनहरूमा हामीबिच भएका शालीन र प्रेमिल संवादहरू सम्झिरहन थालेँ । अब म पल पल उनको खबर सुन्न आतुर हुन थालेको थिएँ । हुँदाहुँदै एकदिन उनको अप्रेसन सफल भएको खबर आयो । म खुसीले गदगद भएँ ।
बिस असारदेखि वर्षे बिदा भयो । यसपालिको बिदामा मलाई केही नयाँ पुस्तकहरू पढ्नु थियो । घरायसी काम र पुस्तकहरूले मेरो बिदा कहिले होला भनेर औँला भाँचिरहेका थिए । नभन्दै मैले पनि कृष्ण धरावासीको अर्धकट्टी सकेर प्रा.डा. नारायण चालिसेको ´पूर्वीय दार्शनिक मान्यतामा कोइरालाका उपन्यास’ नामक समालोचनात्मक पुस्तक पढ्दै थिएँ । एकदिन पसलमा साथीभाइहरूसँग शिमलाबारे गफगाफ भयो । मेरो लहडी मनले फेरि त्यही फुर्को समात्न थालिहाल्यो । पुस्तकहरूले केही समयका लागि फेरि धोका खाए ।
२०८२ असार २७ गतेको कुरा हो । साथमा भिनाजु निरक चन्द हुनुहुन्थ्यो । त्यति वेला म नेपालगन्ज बसपार्क रोडमा थिएँ । शिमलासम्मको टिकटमा सबै कुराको सामना गरिसकेपछि हामी युध्द विराममा बसेका सिपाही जस्ता भएका थियौँ । रुकुम, रोल्पा, दाङ, सल्यान, जाजरकोट, सुर्खेत, दैलेखआदि जिल्लाबाट मानिसहरू आइरहेका थिए र काउन्टर वरपर समात्तिइरहेका पनि थिए । मलाई भने त्यो हुलफालमा पनि एक जना वृध्द र सानी बच्चीले नजिकबाट छोए । उनीहरू अटोबाट झर्नेबित्तिकै फेरि दलाली गर्नेहरू सिनोमा गिध्द परे झैँ गर्न थाले । सबैतिर छोरा नै तानिन थालेपछि बुढाले सकीनसकी उभिएर ढाडको पटुका कसे । अनि चारपाँच वर्षकी नातिनीसँगै हामीनिर आए । मैले सोधेँ,
“यो उमेरमा पनि किन जानुहुन्छ त सिम्लातिर ?”
उनले निकै मुस्किलसँग सास लिँदै भने,
“जेठा छोराका जहान उतै छन् । उसैती जान्छौँ ।”
त्यति कुरा भइसकेपछि मैले उनलाई खासै कोट्याइनँ । त्यसपछि विद्यालय उमेरमा केटाहरूसहित सल्यानको सत्र जनाको टोली आइपुग्यो । उनीहरूको सबै काम ठेकदारले मिलाए । त्यही मौकामा दुईचार जनाले त आँखा राता पारिहालेछन् । ठेकदारजीसित पनि आँखा जुधाएर गफ गर्दै थिए । मलाई पनि ती खाइलाग्दा ठेकदारसँग गफ गर्न मन थियो तर उनले हाम्रो खासै वास्ता गरेनन् ।
साँझ हामी रुपईडीहा भन्सारमा थियौँ । भारतीय सीमा सुरक्षा बलले हाम्रा सामान र नागरिकताहरू हेर्दै अगाडि बढाइरहेका थिए । गाडीनिर पुगिसकेपछि फेरि एकपटक अम्बाला, चन्डीगढ, सोलन, शिमला, रामपुर, कुल्लु, मनाली आदि ठाउँहरूमा जाने यात्रुहरू छुट्याउन थाले । तीनचार वटा हाइस प्याक भइसकेपछि मात्र हाम्रो पालो आयो । HP01A8013 नम्बरको गाडी । हाम्रो गाडीमा पनि विवाहित जोडी, छोराछोरीसितका, स्कुले केटाकेटी, बुढाबुढी आदि सबै अवस्थाका यात्रु थिए । मोबाइल हेरेँ, रातको झन्डै नौ बज्न लागिसकेको रहेछ । गाडी गुड्न थालेपछि गीत पनि बज्न थाल्यो…ए, यता जोवन ढल्क्यो ढलक्क…। युवाहरू हुटिङ गर्न थाले । उमेर ढल्केकाहरूको अनुहार पनि एकपटक उज्याला भए । सोचेँ, विचरा ! हामी नेपालीहरूलाई खुसी नै हुन पनि कहाँ ठुलो विषय चाहिन्छ र ?
रातको एघार बजे लखिमपुरको ढावा अन्नपूर्णमा खाना खाएर हाम्रो गाडी अघि बढ्यो। दिल्ली नपुग्दै उज्यालो हुन आँटिसकेको रहेछ । फराकिला सडकबिचमा बिराना फूलहरू फुलिरहेथे । गाउँको सम्झना गराउने त विचरा मकैबारी र रोपाइँहरू मात्रै थिए ! मौसम उति सफा थिएन तैपनि ट्रकहरूका पछाडि ´बेटी बचाओ, बेटी पढाओ’ लेखिएको देखिन्थ्यो । त्यसले भारतमा पनि छोरीहरूको अवस्था र उनीहरूको सबलीकरणमा चलाइएको अभियानबारे अनुमान गर्न सकिन्थ्यो । मेरा चनाखा आँखाहरूमा भने पहाडको न्यास्रो मेट्न हरिया रुख र गगनचुम्बी महलहरू ठोक्किरहन्थे । ठाउँ ठाउँमा भारतीय राष्ट्रिय राजमार्ग प्राधीकरणका बेरिअरहरू आउँथे, जान्थे । यो क्रम हरियाणाको हंस ढावामा खाना खाँदा मात्र एकछिन टुटेको थियो । माटाको तन्दुरीमा पट्काइएका ताता रोटी, दही र तरकारीले हामी दह्रा भयौँ । फेरि पनि गुरु रजनिशले गाडी स्टार्ट गरे । हस्पिटल, स्कुलकलेज, स्टडियम आदि अनेक दृश्यहरू गाडीसँगै कुदिरहेका थिए । केही समय कुदेपछि हामी कुरुक्षेत्र सेरोफेरोमा पुग्यौँ । त्यसले मलाई महाभारत जस्तो विशाल ग्रन्थको सम्झना गरायो । तैपनि कति मौन बसिरहनु ! नजिकै बसेका दाङका वृध्दलाई सोधेँ,
“तपाईँ कहाँसम्म जानुहुन्छ ?”
उनले भने,
“रामपुरसम्म जान्छु ।”
“के काम गर्नुहुन्छ ?”
“स्याउमै हो । यो सिजन भनेकै स्याउ टिप्ने, प्याकिङ गर्ने, बोक्ने त हो नि । घाँससाँस काट्ने त अलि पछि हो ।…”
अनि हाम्रा बिचमा धेरै कुराकानी भए । चन्डीगढमा खाना खाँदा मैले एसइईमा नट ग्रेडेड हुने हाम्रै दुल्लुकी बहिनीदेखि जाजरकोटका ३.२ जिपए ल्याएर उत्तीर्ण हुने भाइसँग पनि कुरा गरेँ । तिनीहरूको अवस्थाले मलाई निकै छोएको थियो । चन्डीगढको छेउछेवै उत्तरतिर उकालो लागेको केही समयपछि ‘हिमालचल प्रदेशमे आपका स्वागत हे’ लेखिएको गेट देख्यौँ । त्यसपछि आँखा अर्कै पङ्क्तिमा लाग्न पुगे, ‘कृपया धिरे चलेँ’ । इसारा भइसकेछ । कन्डक्टर गएर एउटी उज्याली महिला पुलिसलाई दुई सय दिए । अनि हाम्रो गाडी धिरे धिरे चलिरह्यो ।
अब भिरमा पनि भवनहरू देखिन थालेका थिए । पहिरो रोक्न भिरभरि फलामका किला ठोकेर जाली हालिएको दृश्य विशेष लाग्यो । त्यहीँमाथि ढलान गरिदिँदा रहेछन् । हेर्दाहेर्दै पानी पर्यो । सोलन बजारको भव्य सौन्दर्यले आँखामा शासन गरेर गएपछि कन्डाघाट बजार आइपुग्यो । खोटे सल्ला, रैँचफलाँटका वन र बजारमा पिठ्युँमाथि बोरा र काँधमा नाम्लो हालेर हिँडिरहेका नेपाली दाजुभाइलाई देख्दा कतै आफ्नै ठाउँमा भए झैँ लाग्थ्यो । केही समयपछि हामी सहयात्रीहरुलाई हात हल्लाउँदै शिमलाको नयाँ बसपार्कमा झर्यौँ । साँझ पर्दै आइसकेकाले हामीलाई सबैभन्दा पहिले छाकबासको जोहो गर्नु थियो । त्यहाँ अनुकूल नभएपछि हामी फेरि पुरानो बसपार्कतिर लाग्यौँ । गाडीबाट भुईँमा गोडा राम्रोसँग टेक्न नपाउँदै होटेलवालाहरू तानातान गर्न आइहाले । भिनाजुको एक जनासँग कुरा भयो,
“अरे कौन्सा क्वालिटीका रुम चाहिए, चलो त सही मेरा पास ।”
“हँ हँ, ओ बात ठिक हे । रुम तो चाहिए । कित्ना कित्ना दामका हे ?”
“अरे चलो चलो । देखो त सही । कित्ना आदमी हे ?”
“दो आदमी ।”
“पाँच सौ क्या बढी हे ?”
गफ लगाउँदै भिरमा ओरालैओरालो पो लियो । होटेल ´प्रीत´को कोठा नं. १०२ । काउन्टरमा नागरिकताको फोटोकपीसँगै एक हजार दाम माग्यो । हामीले पाँच सौ बोलेको होइन र, भन्यौँ । उसले उल्टै भन्न थाल्यो,
“अरे क्या समझता हे ! एक आदमीका पाँच सौ बोला ।”
मोराले सजिलै फसाइहाल्यो ।
खाना खाएर ढलेपछि पनि मलाई निकै समयसम्म निद्रा आएन । तिनीहरूको व्यहार सम्झिरहेँ । ठुलो र सम्पन्न मुलुक हुँदैमा कहाँ हुँदो रहेछ र ! मन ठुलो नभएपछि घरले मात्र त के गर्दो रहेछ र । आखिर हामी घुम्न गएका पाहुना न थियौँ । उसले पैसा चिन्यो तर हामीलाई चिनेन । उसको त्यो छुच्याइँ निकै तल्लो स्तरको लाग्यो मलाई । म चाहन्थेँ, कमसेकम उसले हाम्रो देश र हाम्रा बारेमा दुईचार कुरा सोधिदेओस् । त्योभन्दा पनि धेरै त शिमलाका बारेमा भनिदेओस् । युगौँदेखि त्यहाँ काम गर्न जाने नेपालीहरूका बारेमा भनिदेओस् । तर ती मेरा सबै मिठा कल्पनाहरू मैलाई निदाउन नदिने कुण्ठा मात्र थिए । त्यसपछि मलाई सम्झना आयो हाम्रा ठाउँहरूमा आउने पर्यटकहरूको । कतै हामी नेपालीहरूले पनि यसरी नै पाहुनाको आगमनलाई खल्लो तुल्याइरहेका त छैनौँ ? पाहुनासँग दुईचार मिनेट मिठा गफ गरिदिँदा हामीलाई के नै बाधा हुन्छ र ! बरु नबोलिदिँदा कति नकारात्मक असर पर्दोरहेछ भन्ने कुरा म आफैले अनुभव गरेँ । अनि सोचेँ, वास्तवमा यस्ता साना साना तर अत्यन्त संवेदनशील विषयमा हामीले तल्लो कक्षादेखि नै पढाउनुपर्छ । एउटा व्यवसायमा लाग्नेका लागि मात्र नभएर सबै नागरिकका लागि यसबारे प्रयोगात्मक ज्ञान दिन अब चुक्नु हुँदैन ।
भोलिपल्ट हामीलाई स्याउबारी डुल्ने मन थियो । तर ठाउँको भने ठेगान थिएन । चियागफमा एक जना साहुजीले कुप्रीतिर जान सल्लाह दिए । एकछिनपछि भिनाजुले अर्को पसलमा गएर सुकमेल किन्दै भन्नुभयो,
“साहुजी, हामको ये बतादेना कि यहाँसे सबसे नज्दिक एप्पलका गार्डेन देख्नेके लिए कौन्सा जग्गा जान ठिक होगा ?”
“हँ, एप्पल गार्डेन ! किस लिए ? काम चाहिए ?”
“नहीँ नहीँ । एकबार देख्नेके लिए ।”
“क्या देख्ने ? ”
“स्याउ देख्ने । कैसे फलेगा । कैसे काम करेगा ।”
“हँ…एकबार देख्नेके लिए जाइङ्गे । औरबार बुझ्नके लिइ जाइङ्गे । फिर औरबार क्याका लिए जाइङ्गे ?”
उसले निकै खिस्याउन थाल्यो । उसको आशय गोर्खे भनेका भारी बोक्ने र ज्यालामजदुरी मात्र गर्नेवाला हुन् भन्ने थियो । अघिल्लो रातको चित्त दुःखाइ त छँदै थियो, त्यसैमाथि उसको झरिलो हेपाइ थपियो । त्यसपछित झन् गलेर कर्कलो हुन लागेको मेरो अहमलाई भने मैले उसको अज्ञानता सम्झेर ढल्न दिइनँ । सिमसिमे पानीमा पनि तीन सय तिरेपछि एउटा ट्याक्सीले हामीलाई लक्कड पुर्याइदियो । त्यहीँबाट बस समातेर हामी कुप्री पुग्यौँ । बरु इन्दिरा गान्धी आयुर्वेद महाविद्यालय, विद्यालय, बजारको झिलीमिली, भिरमा उभिएका विशाल भवन र लेकाली वनजङ्गलले हामीलाई नराम्रो भनेनन् । डाँडामा झरेपछि जालीले ढाकिएर सेताम्ये भएका स्याउका बगैँचाहरू देखिए । पारितिरका बगैँचाहरू पनि खेतबारीका कान्लाहरूमा चिसो यामको बिहानीमा माकुराले लगाएका जालो जस्ता देखिन्थे । स्याउका बोटमुनि केही थान फोटा र भिडियोहरूको उद्यम गरिसकेपछि हामी अलि परसम्म पनि पुग्यौँ ।
एकचोटि कल्पना गरेँ, हाम्रा स्यान्कान्छा बाले पूरै बैँस यिनै गाउँहरूमा रित्याए होलान् । मर्ने वेला चाहिँ उनी आफू पनि रित्तै गाउँ पुगेका थिए । अर्का सिम्ले जेठबाले आफूभन्दा अग्ला स्याउका पेटी बोक्दाबोक्दै मरेको पाखा उ त्यै होला !
चिया पसलका साहुजीले एउटा सुन्दर मन्दिरतिर घुमाइदिनका लागि ट्याक्सी र घोडा छ भनेका थिए तर हामीलाई त्यता जान मन लागेन । केही समय गफ गरेर हामी फेरि पनि बाटोतिरै झर्यौँ । हातमा हतौडाहरू समाएका रोल्पाली भाइहरूलाई सोधेँ,
“कति दिन्छ त भाइ दैनिक ज्याला ?”
“सुक्का छ सय ।”
सिँढीमा एउटी बहिनी पनि गाउँतिर भिडियो कल गर्दै थिइन् । उनीसँग बोल्ने मन हुँदाहुँदै पनि मैले उनको लय बिथोल्न सकिनँ । तैपनि बाटो हेर्दै थिएँ, उताबाट शिमला जाने बस आइहाल्यो । बसभित्र चढेर यसो वरपर हेरेँ; आधाउधी त नेपाली नै रहेछन् । पछाडिका एक जना साथीसँग बोलिहालेँ,
“कताबाट आउनुभएको हो ?”
“ठ्योबबाट । ढली सब्जीमन्डीसम्म जाम भनेर ।”
“नेपाल नि ?”
“नेपाल त रोल्पाको परिवर्तन गाउँपालिका ।” अनि हजुरहरू ?”
“हामी त दैलेखबाट । यसो घुमघाम गरम् भनेर ।”
उनको सपरिवार नै त्यहीँ जग्गा भाडामा लिएर तरकारी खेती गर्दो रहेछ । आफूकहाँ जाऊँ भनी नेपालीपन देखाउने रोल्पाका ती दिनेश घर्तीसँग छोटो समयमै धेरै कुरा भए । ढलीनजिक हात हल्लाउँदै उनी छुट्टिएपछि म एकछिन आफैभित्र हराएँ । पछिल्लो परिवर्तनको मुख्य किल्ला हो रोल्पा । अझै त्यसमा पनि पालिकाको नामै काफी रहेछ । तर दिनेश जस्ताहरूले कहिलेसम्म त्यस्तो जीवन बाँच्नुपर्ने ? हामी नभए आकासै खस्छ भन्ने मुलुकका माउ नेताहरूसँग यसको केही ठोस जवाफ छ ?”
गाडी दिवार सल्लाको घना सौन्दर्य छिचोल्दै कुदिरहेथ्यो । छोटो समयमै हामी हिमालचल प्रदेश पुलिस मुख्यालय हुँदै बसपार्कमा आइपुग्यौँ । बसपार्कको माथिल्लो तलाबाट शिमलाको मुख्य बजारलाई राम्रोसँग नियालेँ । यसको विकासमा हाम्रा दाजुभाइले पनि त कति पसिना बगाए होलान् । अझै कति बगाउँदै छन् होला । तिनको पसिनाको अवमूल्यन यो देशले कहिलेसम्म गरिरहला ? राष्ट्रवादका चर्का नारा, साम्यवाद र समाजवादका मिठा कुरा अनि वर्गीय मुक्तिका सपना बाँडेर सत्तामा पुग्ने हाम्रा नेताहरूले आफ्ना नागरिकहरूको पीडा कहिले बुझ्लान् ? आफ्नैबाट हेपिएपछि पराइबाट हेपिनु कुन ठुलो कुरा भयो र !
हामी अब पहाडबाट तराईतिर झर्दै थियौँ । नैनाटिक्करमा खाना खाएर गाडी फेरि पनि कुदिरह्यो । कहिले गुराँस र काफलका बोटहरूमा आँखा अल्झिन्थे । कहिले सल्लाघारीमा देखिने गाईगोरु र गोठालाहरूमा मन डुल्न थालिहाल्थ्यो । एवं रीतले बेसीतिर झर्दाझर्दै हामी निकै सुन्दर नाहन बजार काटी पाँवटा बसपार्कमा रोकियौँ । पानी परिरहेको थियो । गाडीमा चढ्ने र झर्नेहरू त्यहाँ पनि उत्तिकै थिए । एउटी अधबैँसे महिला आशीर्वचन बोल्दै पैसा मागिरहेकी थिइन् । मेरा आँखा भने पटक पटक हाम्रो बायाँतिरको सिटमा ठोक्किन पुगिहाल्थे । त्यहाँ अविवाहित जस्ता लाग्ने एक जोडी युवायुवती थिए । उनीहरुको प्रणय युध्दले छिमेकीहरूमा पनि राम्रो असर परिरहेको थिएन । त्यो युध्दलाई चिर्दै गाडी फेरि पनि कुद्न थाल्यो । बाटामा दलाई लामाका ठुला अर्धकट्टी फोटाहरू देखिन्थे । अनि म बाहिरको संसारबाट एकछिन विमुख हुन्थेँ र भुटानी शरणार्थीका पीडादायी कथाहरू सम्झिन पुग्थेँ । हिँड्दाहिँड्दै हामी महाराणा प्रताप अन्तर्राज्यीय बस अड्डा देहरादुनमा आइपुगेछौँ । धेरै यात्रुहरूसँगै राशलीलावाला पनि त्यहीँ झरे । सबै शान्त भए होलान् । तर मेरो चञ्चले मन भने एकछिन ती प्रतापी राजा महाराणा प्रताप र उनको ऐतिहासिक घोडा चेतकमा गएर अल्झियो । त्यतै अल्झिरहे फेरि देहरादुनको त्यो मोहनी रुप देख्न छुटिजाने डर । डाँडाकाँडाले घेरिएको साँच्चिकै विशाल र सुन्दर रहेछ देहरादुन । सन्ध्याकालीन झिलीमिलीमा त झन् त्यो बहुमूल्य सिताराजडित आभूषणले युक्त नव दुलही भएको थियो । अघि बढ्दै जाँदा पारिपट्टिको भित्तातिर कतै मन्सुरीको सौन्दर्य अलग्गै आलोकित भइरहेथ्यो । अलिकति जङ्गल अनि सुन्दर बजारलाई छिचोल्दै आठ बजे हामी हरिद्वार पुग्यौँ । तर भगवानको नाउँमा हल्ला गरिरहेको हरिद्वारले मेरो मन खासै जितेन । जता हेर्यो काँधमा जलघडा बोकेका गेरुवस्त्रधारीहरू मात्र । हरहर महादेव, बम भोले र सिट्ठीको आवाजले कानै खाने । ओरालोको सर्प हुँदै आएको हाम्रो गाडी त्यसपछि त कछुवालाई पनि नसक्ने हुन थाल्यो । गाडीबाट झरी होटेल विशुमा पुग्दा रातको एघार बजिसकेको थियो ।
बिहानै उठी नित्यकर्म सकेर हामी बसपार्कतिर लाग्यौँ । त्यहाँ मात्र नभएर रेलवे स्टेसन र सडकपेटीहरूमा पनि मानिसहरू सुतिरहेका देखिन्थे । ती दृश्यहरूले सम्पन्न भारतलाई गिज्याइरहे झैँ लाग्थ्यो । तर हामी भने रेलवे स्टेसनको प्राङ्गणका ध्यानस्थ शिवजीसँग एकदुइटा फोटाहरु खिचाएर हरिद्वार मन्दिरतिर लाग्यौँ । रिक्साबाट गङ्गाको किनारमा ओर्लिँदा सिमसिम पानी परिरहेको थियो । नदीतटमा हजारौँ मानिसहरू स्नान, पूजापाठ, घडामा जल भर्ने काम आदि गरिरहेका देखिन्थे । हामीले पनि पूजासामग्री किनी स्नान, पितृतर्पण आदि गरेर उहाँहरूकै सम्झनामा फूलअक्षताहरू बगाइदियौँ । पूर्व योजनामा नभए पनि धार्मिक मानव सागरमा पसिसकेपछि त्यस्ता भावहरू उदाइहाल्दा रहेछन् । त्यसपछि हामीले केही फोटा र भिडियो बनायौँ । त्यत्रो होहल्लामा पनि मलाई भने एक जना मगन्तेको मधुर वाणीले झसङ्ग बनायो । उनी यस्तै केही भन्दै थिए,
“राजा, रङ्क, अमिर सब आए गए
दान, धर्म जो करे सिर्फ ओही साथमे लिए ।…”
बाहिर निस्किसकेपछि हामीले प्रसाद स्वरूप केही मिठाईहरू किनेर फर्कियौँ । हामी पुग्दा एउटै टोलाइरहेको रेल कताबाट अर्को रेल आएर अडिएपछि खुसी भयो । साथी भन्ने कुराको महत्त्व एक्लै परेपछि मात्र थाहा हुँदोरहेछ ।
अब हामी खाना खाएर फर्कँदै थियौँ । बसपार्कको हल्ला छिचोल्दै गाडी कुदेगछि मेरा आँखाहरू फेरि पनि कुद्न थालिहाले । गङ्गाजी तर्नुपूर्व आकासे पुलमुनिको सानो पार्क जस्तोमा धातुका अर्धनग्न नारीश्वरका आकर्षक मूर्तिहरू थिए । सल्काला वटवृक्षयुक्त गाउँसहर र धानका हरिया फाँटहरू छिचोल्दै हामी कहिले उत्तर, कहिले दक्षिणपूर्वर धेरैजसो त पूर्वै कुदिरहेका हुन्थ्यौँ । मलाई भने आँपका बगैँचा, उखुबारी, घोडा, गाईवस्तु रस्यालहरू देख्दा दन्त्यकथाहरूको खुब याद आउँथ्यो । हुँदाहुँदै हामी रुद्रपुर आइसकेका रहेछौँ । मिठाईको बासनाले इन्डिया पसेदेखि नै खानामा खासै नपलाएको मेरो मन एकाएक जुरुक्क उठ्यो । त्यो त रातको बाह्र बजे खुत्तरसम्मका लागि मात्र रहेछ । दुई दुई सय तिरेर टोकन लिइसकेपछि पो देखियो नि हरिगति ! न ठाउँ सफा, न भाँडाकुँडी, न त मान्छे नै सफा । करेसातिर त पूरै खुला शौचालय पो रहेछ । धन्नै मरिएन ! खाना खाँदा ह्वास्सै पिसाबको गन्ध आइहाल्यो । एउटा अन्डा र दुई गाँस रोटी जबरजस्ती निलेर गाडीतिर लागेँ । अलि पछि भिनाजुले दालमोठ र पानी किनेर ल्याइदिनुभयो । धन्न उहाँले त तीन अन्डा र तीन रोटी मज्जाले हान्दिनुभएछ । खुबै हाँसो भयो । त्यसपछि बिहानै छ बजे हामी सकुशल रुपईडीहा झर्यौँ । अब कतै हेर्नु थिएन । नेपालगन्ज हुँदै बबई आएपछि हामीले मिठो खाना खायौँ । वीरेन्द्रनगर भेटिएपछि अब हामीलाई कतै टाढा जानु थिएन ।
साँझ देउतीमा गएर डा. तेजेन्द्र साँवदलाई भेटी एक्सरेको बिल काट्दै थियौँ; अचानक पछाडिबाट डा. शुभले बोलाए । उनी हिजो मात्रै काठमाडौँबाट आएका रहेछन् । मेरो एक्सरे हेरेर खुसी भए । हामीबिच आपसी स्वास्थ्य लाभबारे केहीछिन हर्षमिश्रित भलाकुसारीहरू पनि भए । हामीले अँगालो हालेरै फोटो खिचायौँ । अकल्पनीय भेटको त्यो सुमधुर संयोगले यति खुसी दियो कि मनमा, जुन भावलाई व्यक्त गर्न मसँग कुनै शब्द नै छैन । शब्दातीत यस्ता खुसीहरू पनि आइरहँदा रहेछन् मानिसको जीवनमा । नत्र त सधैँ दुःखी भएर मानिस कसरी बाँच्दो हो !
मेरो लहडी मनलाई डुलाएर त ल्याएँ । साथसाथै फर्किएर आउँदा दाजुभाइका दुःखका कथाहरू पनि आएछन् । पराइको हेपाइ र हेराइलाई आज पनि नियालिरहन मन लाग्छ । संस्कृतमा एउटा भनाइ छ, ‘यथा पिण्डे तथा ब्रह्माण्डे’ । अर्थात् अंशमा जस्तो छ, सारमा पनि त्यस्तै हुन्छ । हामी नेपालीहरूको पीडा जहाँ गए पनि त्यस्तै छ । भर्खरै स्थानीयदेखि सङ्घीय तहसम्मका सरकारहरूले बजेट निर्माण गरे । अघिल्लो वर्षको बजेट हतारपतार असार मसान्तसम्ममा सके । एसइईको नतिजा प्रकाशनताका खुब हल्ला गरे । तर देशभित्र र बाहिर जहाँ भएको भए पनि साँझबिहान चुलो बाल्नकै लागि अहोरात्र पसिना बगाउनुपर्ने भुईँमान्छेहरूका बारेमा तिनले कति सोचे होलान् ? उनीहरूका लागि देशले केकस्ता योजनाहरू बनायो होला ? हाम्रा विश्वविद्यालय र प्रज्ञाप्रतिष्ठानहरूमा यस्ता किनारीकृत समुदायहरूमाथि कति अनुसन्धानहरू हुन्छन् होला ?
घरमा आएपछि तीन दिन पहिले पोस्ट गरेको भिडियोका कमेन्टहरू सरसर्ती हेरेँ । तर मेरा आँखा भने मणिराम न्यौपाने सरको कमेन्टमा गएर ठोक्किए । त्यहाँ लेखिएको रहेछ,
सिम्ला स्याउ अल्मोडा आलु रानीखेत केला,
रुन्छ मन चिरिन्छ छाती सम्झी ल्याया वेला ।
अनि मैले प्रत्युत्तरमा लेखिदिएँ,
माया भन्नु सित्ती होइन कलेजी चर्कन्या,
ज्यान सिम्ला स्याउ बोक्न जान्या मन घरै फर्कन्या !
यो गीत सरले सामान्य मनोरञ्जनका लागि लेख्नुभएको थियो होला । त्यसैले मैले पनि ठट्टामै सामान्य जवाफ लेखिदिएँ । तर यो गीतको सर्जक हामी होइनौँ । यो त सयौँ वर्षदेखि लोकसंस्कृतिका रूपमा स्थापित समाजको विम्ब हो । समाजमा यस्ता कारुणिक जीवनगाथा आज पनि अनगिन्ती छन् । वास्तवमा जनजीवनका सुसेलीहरू छचल्किने सबैभन्दा सशक्त माध्यम नै लोकभाकाहरू हुन् । इतिहास हुनुपर्ने विषय आज पनि हामी भोग्न विवश छौँ । योभन्दा उपहासको विषय के हुनसक्छ र कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि ?
मानिस अत्यन्त संवेदनशील प्राणी हो । कहिलेकाहीँ हामी ससाना शारीरिक चोटहरूबाट पनि अतालिन्छौँ । मनमा बिझाइदिने ससाना घटनाहरूले पनि हामीलाई विक्षिप्त बनाइदिन्छन् । हाम्रा नेताजीहरू आफै भन्छन्; भूगोल मात्रै देश होइन । यदि देश भनेको जनता पनि हो भने आज उनीहरू कति रुग्ण र कष्टकर जीवन बाँचेका छन् भन्ने कुरा तिनका घाउहरूमा मलमपट्टी लगाउने तिनै डाक्टरहरूले नबुझेर कसले बुझ्ने ? मेरो हात त अब ठिक भइसकेको छ । डा. शुभ पनि सन्चो भएर बिरामीहरूको ख्याल गर्दै छन् । हामी आज पनि एकआपसमा स्नेह साटासाट गरिरहन्छौँ । के साँच्चिकै एक संवेदनशील डाक्टर र बिरामी अर्थात् डा. शुभ र मेरो बिचमा स्थापित आस्था, विश्वास र प्रेम नेता र जनताहरूका बिचमा हुनु सम्भव छैन ?